पर्वत, ६ चैत्र– जिल्लामा किसानका लागि पोषण सुरक्षा कार्यक्रम सुरु भएको छ । किसानको आनीबानीमा सुधार गरी पोषणयुक्त खानाका साथै आयआर्जन गर्न सकुन भन्ने उद्देश्यले कृषि ज्ञान केन्द्र पर्वतले ‘ग्रामीण किसान पोषण सुरक्षा कार्यक्रम’ लागू गरेको हो ।
ग्रामीण क्षेत्रका किसानले पोषणयुक्त खानामा ध्यान नदिनुका साथै भात, ढिँडो, मकै, रोटीलगायत बढी खाने गरेकाले पोषणयुक्त खानाका लागि प्रेरित गर्न उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख मनिता थापाले बताइन् ।
‘अन्नबालीका साथै मासु, मह, अन्डा र ताजा तरकारी पनि उत्तिकै मात्रामा सेवन गर्नुपर्ने हुन्छ । तर, पछिल्लो समय युवा विदेश पलायन हुन थालेका छन् भने कृषि पेसा गर्ने पनि निर्वाहमुखी बन्दै गएका छन्’, थापाले भनिन् ।
जमिन बाँझो राख्ने र खाद्यान्न बजारबाट किनेर खाने चलन बढेकाले पोषणयुक्त खानाको कमी हुँदा विभिन्न रोगको सङ्क्रमण बढ्ने भएपछि कृषि ज्ञान केन्द्रले पिछडिएका बस्तीका किसानका लागि उक्त कार्यक्रममार्फत सहयोग थालिएको प्रमुख थापाको भनाई छ ।
कार्यक्रमअन्तर्गत मोदी गाउँपालिकाको सिद्ध हलहले कृषि तथा पशुपंक्षी किसान समूहमा आवद्ध किसानलाई ५ लाख ५७ हजार भन्दा बढीको मौरीका गोलासहित ३० घार, कोइलर जातका चल्ला ४ सय र मौसमी तथा बेमौसमी तरकारीको बिउ वितरण गरिएको छ ।
कृषि प्रसार अधिकृत विश्वास काफ्लेले ग्रामीण तथा पिछडिएका क्षेत्रका नागरिकलाई लक्षित गरी ग्रामीण पोषण सुधार कार्यक्रम सञ्चालन गरिएको बताए । अन्य पिछडिएका पालिकालाई समेत लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने केन्द्रको योजना छ ।