बागलुङ, ७ चैत्र– ठेकेदारले सम्झौताअनुरूप नियमित काम गरेको भए अहिलेसम्म बागलुङको गलकोटदेखि ताराखोला गाउँपालिका जाने सडक कालोपत्रे भइसक्नुपर्ने थियो ।
ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने उक्त रणनीतिक सडक म्याद सकिएको २ वर्षमा पनि अझै अलपत्र अवस्थामा छ । झन्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये २० किलोमीटरको मात्रै डीपीआर बनेको थियो ।
ठेकेदारको ढिलाईका कारण उक्त खण्डको आधामात्रै सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले बताए । ठेक्का लिएको १० किलोमिटरमध्ये साढे ५ किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरेपनि बाँकी खण्डमा काम सुरु नभएको सुवेदीले जानकारी दिए ।
‘अनुगमन गर्दा अहिलेसम्म ५० प्रतिशत रकम भुक्तानी भइसकेको छ, काम ५० प्रतिशत पनि भएको छैन’ सुवेदीले भने । एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीले सडक बनाउन ठेक्का लिएको म्याद दुई पटक थपेको छ । आगामी मंसिर मसान्तसम्मका लागि थपेको म्यादमा पनि काम सक्ने लक्षण नदेखिएको सुवेदीले बताए ।
कम्पनीले २४ करोड ७८ लाख रुपैयाँमा सडकको १० किलोमिटर खण्ड कालोपत्रे गर्न ठेक्का लिएको हो । अहिलेसम्म १२ करोडभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ । सडक अलपत्र पर्दा गलकोट नगरपालिका वडा नं. ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं. १ र ३ का बासिन्दाले सास्ती खेपेको स्थानीय वसन्त विकले गुनासो गरे ।