नयाँ दिल्ली – भारत सरकारले नयाँ नियम लागू गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी सरकारले नयाँ श्रम संहिता लागू गर्ने भएको हो। आर्थिक वर्ष सन् २०२२-२३ देखि लागू हुनेगरी सरकारले श्रम संहिता परिमार्जन गर्ने र चारवटा नयाँ श्रम संहिता लागू गर्ने योजना बनाएको भारतीय मिडियामा खबर छ।
नयाँ संहिताअनुसार श्रमहरुले हप्तामा चार दिनमात्र काम गर्नुपर्ने, तलब भत्ता हप्ता या दैनिकरुपमा बुझ्न पाइने, श्रमअनुसार ज्याला परिमार्जन हुने वरिष्ठ अधिकारीहरुले भारतीय मिडियासँग बताएका छन्।
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार भारत सरकारले नयाँ श्रम संहिता लागू गरेमा आगामी वर्षदेखि कर्मचारीहरुले हप्तामा ४ दिनमात्र काम गर्नुपर्ने छ। कर्मचारीहरुले ४ दिनमा दैनिक १२ घण्टा अर्थात् हप्तामा ४८ घण्टा काम गर्नुपर्ने छ। कर्मचारीको कामअनुसार ५० प्रतिशत तलब र ५० प्रतिशत भत्तामा जोडिनसक्ने विज्ञहरुले बताएका छन्।
चिनियाँ सेनाले बर्दी परिवर्तन गर्ने
बेइजिङ- चिनियाँ सेनाले आफ्ना सैनिकको बर्दी परिवर्तन गर्ने भएको छ। नयाँ संकेतको बर्दीसहित सेनाले यो हिउँददेखि बर्दी परिवर्तन गर्ने भएको हो। चीनको केन्द्रीय सैनिक आयोग (सीएमसी)ले लडाइँ र अपरेसनमा रहेका आफ्ना सेनाको लागि नयाँ खाले टाइप-२१ बर्दीको अनुमति दिएसँगै सेनाको बर्दीमा परिवर्तन हुने भएको हो।
सबै चिनियाँ सेनालाई यही हिउँददेखि परिवर्तित बर्दी वितरण गरिने चाइना मिलिट्रीमा खबर छ। सेनाको पुरानो बर्दीको मोडल सुधारेर नयाँखाले बर्दी वितरण गर्न लागिएको बताइएको छ। सेनाको नयाँखाले बर्दी नवीन शैली, संरचनामा आधारित हुनेछ भने सो बर्दी अझै गुणस्तरीय सामग्री र प्रविधिमा आधारित हुने बताइएको छ। सेनाको भूमिकाअनुसार फरक विशेषतासहितको बर्दी वितरण गरिने बताइएको छ।
टेस्लाले यो वर्ष ११ बिलियन बढी डलर कर तिर्ने !
क्यालिफोर्निया- अमेरिकी विद्युतीय गाडी कम्पनी टेस्लाका सिइओ एलन मस्कले यस वर्ष ११ बिलियन भन्दा बढी डलर कर तिर्ने दाबी गरेका छन्। उनले आइतबार सो दाबी गरेका हुन्।
मस्कले यसअघि कुनै पनि अमेरिकी अर्बपतिले तिरेको करको इतिहासमा आफूले सबैभन्दा बढी कर तिर्ने बताएका थिए। मस्कले डिसेम्बर १३ मा करिब १३ बिलियन डलर बराबरको सेयर बेचेका थिए। फोर्ब्स पत्रिकाका अनुसार संसारकै धनाढ्य व्यक्तिसमेत रहेका मस्कको सोमबारसम्म औसत आम्दानी वार्षिक २४४.२ बिलियन डलर रहेको छ।
म्यानमार अदालतले सुकीको फैसला सार्यो
बर्मा –म्यानमारको सैनिक अदालतले अपदस्थ नेतृ आङ सान सुकीविरुद्धको मुद्दाको फैसला सारेको छ। अदालतले सोमबार डिसेम्बर २७ सम्मको लागि सो फैसला सारेको हो। हिरासतमा रहेकी सुकीको मुद्दाबारे डिसेम्बर २७ मा अदालतमा सुनुवाइ हुने रोयटर्समा समाचार छ।
यसअघि अदालतले सुकीलाई विभिन्न चार आरोपमा चार वर्षको लागि जेल सजाय सुनाएको थियो। सो सजायअघि अन्तिम सुनुवाइका लागि अदालतले अन्तिम फैसलाको लागि मिति सारेको बताइएको छ।
अमेरिकामाथि इजरायलको प्रतिबन्ध
जेरुसेलम- इजरायल सरकारले अमेरिकामाथि प्रतिबन्ध लगाउने भएको छ। बढ्दो ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै सरकारले अमेरिका र इजरायलको यात्रामाथि प्रतिबन्ध लगाउने भएको हो। युरोप र अमेरिकामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएको भन्दै आफूले सो यात्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको इजरायल सरकारले बताएको छ।
नयाँ प्रतिबन्ध बुधबारदेखि लागू हुने बताइएको छ। इजरायलले अमेरिकासहित बेल्जियम, क्यानडा, जर्मनी, हंगेरी, इटाली, मोरोक्को, पोर्चुगल, स्विजरल्याण्ड र टर्कीको यात्रामाथि समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार ओमिक्रोन भेरियन्ट हालः संसारका ८९ मुलुकमा फैलिसकेको छ।
पाकिस्तानमा २३ सय वर्ष पुरानो बौद्धकालीन मुर्ति फेला
इस्लामावाद- पुरातत्वविद्हरुले पाकिस्तानमा २३ सय वर्ष पुरानो बौद्धकालीन मुर्ति फेला पारेका छन्। पाकिस्तान र इटालीका पुरातत्वविद्हरुले संयुक्त उत्खनन्को क्रममा उत्तरपश्चिमी पाकिस्तानमा करिब २३ सय वर्ष पुरानो बौद्धकालीन मुर्ति फेला पारेका हुन्।
पुरातत्वविद्हरुले स्वाट जिल्लामा २३ सय वर्ष पुरानो अप्सिदल मन्दिर फेला पारेको अधिकारीहरुले बताएका छन्। सो मन्दिरसँगै पुरातत्वविद्हरुले २७ सय वर्ष पुराना कलात्मक कलाकृति फेला पारेको समेत अधिकारीहरुले बताएका छन्।
बौद्धकालीन समयमा सो मन्दिर बाजिरा सहरमा बनेको हुन सक्ने अनुमान पुरातत्वविद्हरुले गरेका छन्। बौद्धकालीन सो मुर्ति पाकिस्तानको सबैभन्दा पुरानो मन्दिरको रुपमा समेत चिनिन्छ।
बंगलादेश र माल्दिभ्सले कैदी स्थानान्तरण गर्ने
ढाका- बंगलादेश र माल्दिभ्सले कैदी स्थानान्तरण गर्ने भएका छन्। बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको आगामी माल्दिभ्स भ्रमणको अवसरमा कैदी स्थानान्तरण गर्ने भएका हुन्।
प्रधानमन्त्री हसिनाको आगामी माल्दिभ्स भ्रमणको अवसरमा कैदी स्थानान्तरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने बंगलादेश टुडेमा खबर छ। बंगलादेश टुडेका अनुसार मन्त्रालयले सोमबार माल्दिभ्स र बंगलादेश सरकारको कैदी स्थानान्तरण गर्ने सम्झौता स्वीकार गरेको छ।
सो सम्झौता माल्दिभ्समा रहेका बंगलादेशी कैदीहरुलाई स्वदेश ल्याउने र बंगलादेशमा रहेका माल्दिभ्सका कैदीहरुलाई माल्दिभ्सको कारागारमा पठाउने सम्बन्धमा रहेको बताइएको छ। हालः करिब ८३ बंगलादेशी कैदी माल्दिभ्सको जेलमा सजाय भोगिरहेका छन् भने बंगलादेशमा भने कुनै पनि माल्दिभ्सका कैदी नरहेको बताइएको छ।
जापानी अर्बपति पृथ्वीमा फर्किए
टोक्यो- जापानी अर्बपति एवं फेसन टाइकुन युसाकु मेइजवा सकुशल पृथ्वीमा फर्किएका छन्। करिब १२ दिनको अन्तरिक्ष यात्रापछि उनी सोमबार सकुशल पृथ्वीमा फर्किएका हुन्। ४६ वर्षीय मेइजवाले १२ दिनपछि काजकिस्तानमा अवतरण गरेको बताइएको छ।
युसाकु १२ दिनअघि अन्तरिक्ष पर्यटकको रुपमा इन्टरनेसनल स्पेस स्टेशनको यात्रामा गएका थिए। उनी रसीयन सोयुज स्पेसक्राफ्टमार्फत् आफ्ना म्यानेजर र रुसी अन्तरिक्ष यात्रुसँगै सो यात्रामा गएका थिए।
युसाकुले सो यात्रामा कम्तीमा ७१ युरो मिलियन खर्च गरेको हुनसक्ने अनुमान गरिएको छ। युकासु जोजो फेसन टाइकुनको रुपमा चिनिन्छन्।
आगलागिपछि रुसले गर्यो १२८ खानी मजदुरको उद्धार
मस्को- रुसका अधिकारीहरुले कम्तीमा १२८ कोइला खानी मजदुरहरुको उद्धार गरेका छन्। साइबेरियाको कोइला खानी क्षेत्रमा भएको आगागिपछि अधिकारीहरुले १२८ मजदुरको उद्धार गरेका हुन्। साइबेरियाको केमेरोभो क्षेत्रस्थित एनाटोली रुवान कोइला खानीमा आइतबार भीषणा आगलागी भएको थियो।
आगलागिपछि खानीमा कार्यरत १२८ मजदुर खानीभित्रै फसेका थिए। खानीमा फसेकाहरुको सकुशल उद्धार गरिएको अधिकारीहरुले स्थानिय मिडियासँग बताएका छन्। गत महिना सोही क्षेत्रमा अवस्थित लिस्टभ्यानिया खानीमा आगलागी हुँदा ५१ मजदुरको ज्यान गएको थियो। करिब १४ वर्षअघि सोही क्षेत्रमा रहेको अर्को कोइला खानीमा आगलागी हुँदा १ सयभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।