म्याग्दी, ८ चैत्र– जिल्लाको एक परोपकारी सामाजिक संस्थाको आग्रहमा यातायात कम्पनीले आर्थिक रुपमा विपन्न परिवारलाई निःशुल्क यातायातको व्यवस्था गर्ने भएको छ ।
ओमकुमारी शान्ति कोषको आग्रहमा म्याग्दी कोरला यातायात प्रालिले निःशुल्क यातायातको सेवा दिने भएको हो । ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायातले लिखित रुपमा सम्झौता गरेरै कोषको सिफारिसमा निःशुल्क यातायातको व्यवस्था मिलाउन लागेको छ ।
म्याग्दी कोरला यातायातले पोखरा र काठमाडौंसम्म जानुपर्ने विपन्न अवस्थाका बिरामीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने सहमती भएको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताए ।
कोषका अध्यक्ष हरिकृष्ण शर्मा गौतम र प्रालिका केसीले दुई संस्था बीचको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर भएपछि कोषले सिफारिस गरेका विरामीलाई निःशुल्क सेवा दिने प्रतिवद्धता जनाइएको प्रालिका केसीले बताए ।
२०७१ मा बेनी नगरपालिका–४ की ओमकुमारी (शान्ति) पुन हाइपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएका म्याग्देलीको उपचारमा उपचारमा सहयोग गर्दै आएको छ ।