बागलुङ, १० चैत– बागलुङको जनसंख्या घटेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बागलुङको जनसंख्या वृद्धिदर ०.७२ प्रतिशत रहेको छ । २०७८ को जनगणनामा बागलुङको जनसंख्या २ लाख ४९ हजार २ सय ११ छ । २०६८ को जनगणनामा २ लाख ६८ हजार ६ सय १३ रहेको थियो ।
तथ्यांक विभागका अनुसार बागलुङमा ६४ हजार १ सय ५३ परिवार संख्या रहेको छ । बागलुङका ३४ हजार १ सय ५७ जना र २२ हजार ९ सय २५ परिवार संख्या विदेशमा रहेका छन् । बागलुङका २८ हजार २ सय ९७ पुरुष र ५ हजार ८ सय ६९ महिला विदेशमा रहेका छन् ।
बागलुङमा ७ हजार ८ सय ११ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन्भने साक्षरता दर ७९.९७ प्रतिशत रहेको विभागले जनाएको छ । तथ्यांक अनुसार बागलुङको सबैभन्दा धेरै जनसंख्या बागलुङ नगरपालिका र कम जनसंख्या तमानखोला गाउँपालिकामा रहेको छ ।