बागलुङ, १३ चैत्र– बागलुङको गलकोट नगरपालिका वडा नं. ७ मल्म र बडिगाड गाउँपालिका वडा नं. ८ को रणसिंकिटेनीमा मुख्यमन्त्री कृषि कार्यक्रम संचालन हुने भएको छ ।
बिपन्न बस्तीमा एकीकृत कृषि कार्यक्रम संचालन नहुँदा किसानले उत्पादन बढाउन नसकेको भन्दै कृषि ज्ञान केन्द्र बागलुङले कृषि कार्यक्रम संचालन गर्न लागेको हो । बिपन्न बस्तीमा अधिकृतम ५० जना किसानले चाहेअनुसार फरक फरक उत्पादनमूलक क्षेत्रमा काम गर्न खोजेमा केन्द्रमार्फत अनुदान प्राप्त हुनेछ ।
दलीत र बिपन्न बस्तीमा सानो लगानी अभावमा कृषि उद्यम संचालन गर्न कठिनाइ भएको गुनासो आएपछि केन्द्रले यो अभियान थालेको हो ।
मल्मको सिरबारे र रणसिंकिटेनीको भेडीखोरमा कार्यक्रम संचालन हुने केन्द्र प्रमुख भानुभक्त भट्टराइले बताए । कार्यक्रम संचालनका लागि किसानलाई बाख्रा, भैसीपालन, तरकारी तथा फलफूल खेतीमा केन्द्रले अनुदान दिनेछ ।
अनुदानको सदुपयोग गरेर किसानले उत्पादनमा जोड दिएमा आगामी बर्ष अनुदान बढाएर लैजान सक्ने छन् । किसानले उत्पादन गर्ने कृषि फसल तथा पशुपालनको लागि बजारीकरणमा पनि केन्द्रले साथ दिने भट्टराईले जानकारी दिए ।
उन्नत जातका पशु दिएर उत्पादनमा जोड दिंदा आयात प्रतिस्थापन हुने विश्वास लिइएको छ । नेपालमा अझै अर्बौको मासु, दूध तथा तरकारी आयात हुने गर्छ । आयात प्रतिस्थापनका लागि कृषि ज्ञान केन्द्रसहित कृषि क्षेत्रमा क्रियाशिल संस्थाबाट ग्रामीण तहसम्म पुगेर लगानी बढाउने कार्यक्रम रहेको भट्टराईले बताए ।
पहिलो चरणमा आवस्यकता भएका बिपन्न किसानको छनौट गर्न व्यवस्थापन समितिहरु गठन भएका छन् । समितिले बिपन्नको छनौट गरी कार्ययोजना बनाएर ल्याएपछि केन्द्रले आबस्यकता अनुसार पाठी र बोयर बोका बितरण गर्नेछ ।