बागलुङ, २२ चैत्र– बागलुङको ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र ताराखोला मिडिया प्रा.लि.को आयोजनामा मंगलबार दोगाडीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । पालिकाले सुशासनका लागि चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको छ ।
सार्वजनिक सुनुवाईमा सेवाग्राहीहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने, किसान सूचीकरण व्यवस्थापन प्रणालीलाई कार्यान्वयनमा ल्याई किसान परिचय पत्र वितरण गर्न, कृषि र पशुपालनको क्षेत्रमा वितरण गर्ने अनुदानलाई सहज बनाउन र अधुरा रहेका ग्रामिण कृषि सडकको बारेमा जिज्ञासा राखेका थिए ।
यस्तै, पहिलो पीडितले अहिलेसम्म राहत पाउन नसकेको, अनुदानका लागि छनौट भएका दुई सहकारी, औद्योगिक ग्राम र ताराखोला अस्पताल निर्माणमा भएको ढिलाई, ढुंगा खानीले निम्त्याएको जोखिम र त्यहाँ कार्यरत मजदुरको सुरक्षा, कर्मचारीको तलबमा हुने विभेद, दलित र जनजातिको उत्थानका लागि विनियोजित बजेटप्रति सेवाग्राहीले प्रश्न गरेका थिए ।
सेवाग्राहीहरुले उठाएका प्रश्नहरुमा गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’, उपाध्यक्ष भीमबहादुर रोका, निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरे, कृषि तथा पशु शाखाका स्रोतव्यक्ति चिन्तामणि शर्मा, रोजगार शाखा प्रमुख शारदा शारदा घर्तिलगायतले जवाफ दिएका थिए ।
ताराखोला मिडिया प्रा.लि.का संरक्षक महेन्द्र घर्ति ‘संगम’को अध्यक्षता, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित कुमार थापाको स्वागत, सम्पादक खगेन्द्र विकको संचालनमा सम्पन्न भएको सार्वजनिक सुनुवाईमा ताराखोला मिडिया प्रालिका संचालक पूर्णभन्द्र न्युरेले पालिकाबाट प्रवाह हुने सेवाप्रति सेवाग्राहीले व्यक्त गरेको अभिमत प्रस्तुत गरेका थिए भने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष सरिता खत्रीले टिप्पणी गरेकी थिइन् ।