बागलुङ, ४ बैशाख– जिल्लाको बडिगाड गाउँपालिकामा सम्पन्न बिज्ञ सम्मेलनले शिक्षा क्षेत्र सुधार्न १४ बुँदे सुझाव पेश गरेका छन् । सामुदायिक विद्यालय सुधार्न गाउँपालिकाले शनिबार बिज्ञ सम्मेलन गरेको थियो ।
सुझावमा हरेक बिद्यालयका प्रधानाध्यापकलाई कम्तिमा तीन बर्षको करार गरेर उनीहरुको योजनाअनुसार काम गर्न दिई प्रधानाध्यापकले कक्षा शिक्षक तथा विषय शिक्षकसंग सिकाइ सम्झौता गरेर न्युनतम सिकाइ उपलब्धी हासिल गर्नुपर्नेमा विज्ञ सम्मेलनले सुझाव दिएको छ ।
हरेक शिक्षक र सरकारी कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक बिद्यालयमा पढाउनु पर्ने जोड दिदै बिद्यालयको गुणस्तर सुधार गर्दै शिक्षकहरुलाई उत्तरदायी बनाउन पनि सामुदायिकमा पढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
बिद्यालय तहमा राजनीतिक गतिविधि रोक्नुपर्ने, अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने, बालकक्षा र आधारभूत तहको सुधारमा सबैको पहल हुनुुपर्ने, एक विद्यार्थी एक सीप, एक विद्यालय एक उत्पादन कार्यक्रम गर्दा बिद्यार्थीले पढाइ सकेपछि रोजगारी बन्न सक्ने समेत विज्ञहरुले सुझाएका छन् ।
यस्तै, उपलब्ध स्रोत र साधन पहिचान गरेर ती साधनबाट उत्पादनमा लाग्न पनि सुझाव विज्ञले सुझाव दिएका थिए । सम्मेलनमा विज्ञले प्रस्ताव गरेका सुझावलाई गाउँपालिकाले कार्यान्वयनको लागि कार्यपालिकाको बैठकमा छलफल गर्ने अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन ।
सम्मेलनमा विज्ञको रुपमा बृहत राष्ट्रिय शिक्षा महाअभियानका अभिषेक घिमिरेले शिक्षाले संस्कार, सिप र प्रविधिलाई आत्मसाथ गर्नुपर्ने भन्दै प्रधानाध्यापक र शिक्षक सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने बताएका थिए ।