बागलुङ, ७ बैशाख– शालग्राम महोत्सवलाई सफल बनाउन प्रचारात्मक र सन्देशमुलक कार्यक्रम गर्ने तयारी भएको छ । कालीगण्डकी र शालीग्राम बचाउन आयोजना गर्न लागिएको शालग्राम महोत्सवलाइ नदीकै चित्कारको स्वरुप दिन लागिएको हो ।
बैसाख ११ गतेदेखि १५ गतेसम्म आयोजना हुने महोत्सवमा नदीको महत्वबारे प्रचार गरिने शालीग्राम संग्राहलयका संरक्षण ऋषि प्रपन्नाचार्यले बताए । बागलुङ नगरपालिका–४ मा रहेको रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र यहाँ निर्मित शालग्राम संग्राहलय व्यवस्थापन समितिले महोत्सव गर्न लागेको हो ।
कालीगण्डकीको महत्व दर्शाउने, शालीग्राम संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालीग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउने महोत्सवको उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद शर्माले बताए । महोत्सवमा कालीगण्डकी नदी र शालीग्रामको महत्वबारे कवि सम्मेलन, भजन, लोकगीत, र बृहत काब्यात्मक कार्यक्रम पनि संचालन हुने छ ।
महिला हित सहकारी संस्थाको अगुवाइमा हुने बिशष कार्यक्रममा २३ टिमले लोकगीत, तीज र असारे तथा रत्यौली भाखामा नदीको महत्व बताउने योजना बनेको सहकारीकी अध्यक्ष लीला खड्काले बताइन् । बुधवार सहकारीका पदाधिकारी र सरोकारवालासँग अभियानबारे छलफल गरिएको थियो । महोत्सवमा बिभिन्न धार्मिक स्थलबाट आउने भक्तजन र धार्मिक अगुवाहरुको सहभागिता रहनेछ ।
बागलुङमा ६ बर्षअघि स्थापित शालीग्राम संग्राहलयमा १ लाख १५ हजार शालीग्राम संग्रह गरिएको छ । नदीको सभ्यता जोगाउन पहिलो दिनको कार्यक्रम अघि मालढुंगादेखि कलस यात्रासमेत संचालन हुनेछ ।