बागलुङ, १४ बैशाख– कपडा सिलाईको बिषयमा बिबाद भएपछि टेलरिङ व्यवसायीमाथी आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङ बजारको हल्लनचोकस्थित जनप्रिय टेलरिङ सेन्टरका सञ्चालक सुजन परियार र सरस्वती खड्का परियारमाथी आक्रमण गरेको आरोपमा बागलुङ नगरपालिका–३ का सुराग शाक्य र आशिष शाक्य पक्राउ परेका हुन् ।
बिहिबार बिहान साढे नौ बजेको समयमा उनीहरुबीच बिबाद भएको थियो । बिबादकै बीचमा शाक्यले परियार दम्पत्तीमाथी आक्रमण गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । सुजनको दायाँ र सरस्वतीको बायाँ हातमा चोट लागेको छ । केसीका अनुसार उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ ।
शाक्यलाई पक्राउ गरेको प्रहरीले घटनाको बिषयमा परियार दम्पत्ती अस्पतालबाट फर्किएपछि थप जानकारी लिने जनाएको छ । कपडा सिलाईको बिषयमा भनाभन भएको प्रारम्भिक जानकारी प्रहरीले पाएको जनाएको छ ।
घटनाको बिषयलाई लिएर बागलुङ टेलर्स व्यवसायी संघले खेद प्रकट गरेको छ । संघका अध्यक्ष प्रेम कुमारी श्रीषले एक बिज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेकी छन् । ‘दिनदहाडै पसलमा आएर आक्रमण गर्नेलाई कार्वाहीको दायरामा ल्याउने र सम्पूर्ण व्यवसायीको मुलुकमा स्वतन्त्र व्यवसाय गरेर खान पाउने हकको प्रत्याभूति नगराएसम्म बागलुङ बजारका सम्पूर्ण टेलर्स व्यसायीहरुले आफना पसल बन्द गर्न घटनाका दोषीलाई कार्वाही अघि बढाउन सम्बन्धित निकायलाई अपिल गर्दछौ ।’ बिज्ञप्तीमा भनिएको छ ।