बागलुङको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको डहरेका घर–घरमा खानेपानीका धारा बनेपछि स्थानीयलाई सहज भएको छ । –तस्बिर : रामकृष्ण बोहरा/बागलुङ
पर्वत, १६ बैशाख– लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका ६ दर्जनभन्दा बढी खानेपानी योजना अधुरै छन् । ‘एक घर एक धारा’ पु¥याउने लक्ष्यसहित २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका योजना बजेट अभावमा अलपत्र बनेका हुन् ।
पर्वतका सातवटै पालिकामा रहेका ती योजनालाई पूर्णता दिन तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन नगरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
डिभिजनका इञ्जिनियर शिवशंकर शाहका अनुसार, हाल जिल्लाभर तीन करोडदेखि २० करोड लागत अनुमानका ७६ खानेपानी आयोजना छन् । ती सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेटअनुसार करिब तीन अर्ब बजेट आवश्यक पर्दछ ।
आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न हुनुपर्ने आयोजनाको लागत अनुमानअनुसार काम हुन बर्सेनि कम्तीमा ५० करोड बजेट आवश्यक पर्नेमा चालु वर्ष झण्डै १३ करोड आएको छ । ‘यो वर्ष आवश्यक बजेटको पाँच प्रतिशत पनि बजेट छैन’ इञ्जिनियर शाहले भने, ‘काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नहुँदै भग्नावशेष बनेका छन् ।’
अधिकांश आयोजना उपभोक्ताको सहलगानीमा सञ्चालित छन् । प्रत्येक आयोजनामा उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मतसम्भार कोषमा १ प्रतिशत नगद जम्मा गर्नुपर्छ ।
सञ्चालित अधिकांश आयोजनाका उपभोक्ता समितिले आफ्नो जिम्मेवारीको काम सके पनि बजेट अभावकै कारण कार्यालयले काम अघि बढाउन नसकेको हो । घरदैलोमा पानी पाउने आशामा श्रमदान र मर्मतसम्भार कोष जम्मा गरेका शालिग्राम खानेपानी आयोजनाका उपभोक्ता पानीको आसमा पुस्ता बित्न लागेको भन्दै निराश बनेका छन् ।
बृहत् शंकरपोखरी खानेपानी आयोजना, वहाकी शालिग्राम खानेपानी आयोजना, चित्रे–तिलाहार खानेपानी आयोजना, लुंखु खानेपानी आयोजना, हुवास छहरा खानेपानी आयोजना बजेट अभावकै कारण अलपत्र बनेपछि प्रभावित क्षेत्रका बाससिन्दा आक्रोशित बनेका छन् ।
‘एक घर एक धारा’ पु¥याउने संघीय र प्रदेश सरकारको लक्ष्य भए पनि पर्याप्त बजेट नहुँदा १५ वर्षअघिदेखिका योजनासमेत पूरा हुन नसकेको इञ्जिनियर शाहले बताए ।