बागलुङ, २१ बैशाख– दुई गोलको अग्रता जोगाउन नसक्दा उपाधि दाबेदार मानिएको चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब अर्ना जेसिज कप फुटबल प्रतियोगिताको सेमीफाइनलबाटै बाहिरिएको छ । पहिलो हाफमा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै आक्रमक खेल खेलको वीर गोर्खालीले ५ मिनेटमा ३ गोल गर्दै संघर्षपूर्ण जित निकाल्यो ।
वीर गोर्खालीले अब उपाधिका लागि श्री मेयर गणसंग शुक्रबार प्रतिष्पर्धा गर्ने छ । बिहिबार भएको दोस्रो सेमीफाइनल खेलमा चिल्ड्रेनका दिवस छन्त्यालले पहिलो हाफको २४ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिएका थिए । तनावपूर्ण बनेको खेलमा खेलाडिबीच विवाद सिर्जना हुँदा रेफी कविरमान गुरुङले पहिलो कार्ड प्रयोग गर्नुप¥यो । वीर गोर्खालीका टिम म्यानेजर प्रदिप श्रीस, खेलाडि मिलन साङत्यान, सशिल थापा, एलक्स र बीरमास, चिल्ड्रेन गोलरक्षक सौगात मल्ल, नेक्शम थापा र होवीनले पहेलो कार्ड पाए ।
पहिलो हाफको ४२ औं मिनेटमा चिल्ड्रेनका नाइजेरियन स्ट्राइकर जोन ग्लोरीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा आक्रमक खेल खेलको वीर गोर्खालीले पाँच मिनेटमा ३ गोल गर्दै चिल्ड्रेनमाथि सनसनीपूर्ण जित निकाल्यो । वीर गोर्खालीको जितमा मिलन साङत्यानले ७२ र ७६ औं मिनेटमा दुई गोल गरेभने सुशिल थापाले ७४ औं मिनेटमा गोल थप्दै टिमको जित सुनिश्चित गरे ।
यसअघि भएको पहिलो सेमीफाइनल खेलमा कालीपुल युनाईटेड क्लब बेनीलाई १–० गोलले पराजित गर्दै श्री मेयर गणले फाइलमा प्रवेश गरेको छ । श्री मेयरको जितमा लेफ्ट विङगर दिशान्त राईले ६३ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । खेलमा कालीपुल युनाईटेड र श्री मेयरका खेलाडिले गोल गर्ने थुप्रै अवसर पाए पनि खेर फालेका थिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडि, गोलरक्षकलगायत पाँच अलग–अलग विधिामा खेलाडिलाई सम्मान तथा पुरस्कार वितरण गरिने प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले जानकारी दिए ।


