बागलुङ, २५ बैशाख– मागअनुसार मकैको बीउ उत्पादन गर्न कृषि ज्ञान केन्द्र बागलुङले अभियान थाल्यो, उत्पादित मकैको बीउ भण्डारण गर्न काठेखोला, बरेङ र जैमिनीमा भवन निर्माण,
कृषि ज्ञान केन्द्र बागलुङले मकैको बीउ वृद्धि अभियान थालेको छ । आगामी वर्षसम्म बागलुङमा माग भएअनुसार बीउ उत्पादन गर्ने ज्ञान केन्द्रको लक्ष्य छ ।
किसानले बीउ नपाएर हैरान भएकाले बीजवृद्धि अभियान थालिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । चालु वर्षमा तीन दशमलब पाँच मेट्रिकटन बीउ उत्पादन भइसकेको छ । आगामी वर्षसम्म जिल्लाको आवश्यकता पूरा गर्नेगरी मकैको बीउ उत्पादन गर्ने लक्ष्य रहेको भट्टराईले जानकारी दिए ।
गत वर्षदेखि २५ हेक्टर जमिनमा बीजवृद्धि कार्यक्रम थालिएकाले आवश्यक बीउ पु¥याउन सकिने प्रमुख भट्टराईको दाबी छ । उत्पादित मकैको बीउ भण्डारणका लागि काठेखोला गाउँपालिकामा २०, बरेङमा १० र जैमिनी नगरपालिकामा २० टन क्षमताको भवनसमेत निर्माण गरिएकोे छ ।
गतवर्ष बडिगाड गाउँपालिकाको दगातुम्डाँडामा ३० टन क्षमताको भवन बनिसकेको छ । चालु आर्थिक वर्ष बरेङमा १५ हेक्टरमा बीजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको र त्यसबाट ३५ टन मनकामना जातको प्रमाणित बीउ उत्पादन हुनेछ । बीज वृद्धिका लागि गणेश र मनकामना जातको मकै बढी लगाइने गरिएको छ ।
हावापानीको हिसाबले बागलुङका अधिकांश स्थान मकै उत्पादनका लागि अब्बल मानिएको छ । ‘राम्रो उत्पादन हुने भएकोले मकैको बीउ तथा बाली उत्पादन बिशेष कार्यक्रमनै सञ्चालन गरिएको छ’ बाली विकास अधिकृत दिनेश पाठकले भने, ‘गण्डकी प्रदेश सरकारले पनि बीउ उत्पादनका लागि लगानी गरेको छ ।’
चालु आर्थिक वर्षमा गण्डकी सरकारको पाँच करोड बजेटबाट उन्नत बीउ उत्पादन गर्ने लक्ष्य रहेको र सो रकमबाट बागलुङमा मात्रै ४८ लाख लगानी गरिएकोे छ ।