१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

ग्रीसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चार जना नेपालीको सनाखत


जनमञ्च संवाददाता
  • ८ पौस २०७८ , बिहिबार

  • ग्रीसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चार जना नेपालीको सनाखत

    लण्डन – गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । टर्कीबाट गैरकानूनी रुपमा  ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परि मृत्यु भएका चारै जना नेपालीको पहिचान खुलेकाे छ ।

    मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओमबहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको पहिचान हुन बाँकी थियो ।

    ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।
    दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरिसकेको बताए ।

    दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रीसको एथेन्स शहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य चार जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

    गैरकानूनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीहरूको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपालीसहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडाउँदा चालकले सन्तुलन कायम गर्न नसकेर दुर्घटना भएको बताइएकाे छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend