म्याग्दी, ४ जेठ– संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन् । बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन् ।
पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए । सेभेन समिट ट्रेक्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले आज बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् ।
पायनियर एडभेन्चरले आफ्नो कम्पनीमार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेका जनाएको छ ।
धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७ बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताए ।