तस्बिर गुगलबाट
म्याग्दी, २७ जेठ– म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ ।
म्याग्दीको बेनी नगरपालिका वडा नं. ८ कालीपुल र पर्वतको जलजला गाउँपालिका वडा नं. २ र वडा नं. ३ मा पर्ने बगरफाँट जोड्ने बेलीब्रिज निर्माणकार्य लक्ष्यभन्दा एक महिनाअघि नै सकिएको हो ।
पैतालीस मिटर लामो बेलीब्रिज निर्माणका लागि बेनी–जोमसोम कोरला सडक आयोजनासँग बेनीको हिमालयन बिल्डर्सले २०७९ फागुनमा २ करोड चार लाखमा ठेक्का सम्झौता गरेको थियो ।
आयोजना प्रमुख जगत प्रजापतिले आगामी असार मसान्तसम्म सम्झौताको म्याद भएपनि एक महिनाअघि नै बेलीब्रिज निर्माण सकिएर प्रयोगमा आएको बताए । ‘प्राविधिक मूल्यांकन र नापजाँचको काम बाँकी छ’ प्रजापतिले भने ।
धेरै योजना ढिलासुस्तीले थलिएको अवस्थामा बेलीब्रिज लक्ष्यभन्दा एक महिनाअघि नै सम्पन्न भएको हो । पोखरेबगरमा गत वर्ष पक्की पुल बनेपछि प्रयोगविहिन बनेको बेलीब्रिज बगरफाँटमा स्थानान्तरण गरिएको हो ।
हिमालयन बिल्डर्सका सञ्चालक नीरज भण्डारीले काम गर्ने वातावरण, सम्बद्ध कार्यालय, स्थानीय पालिका र समुदायको सहयोगका कारण लक्ष्यअघि नै पुल निर्माण सम्पन्न भएको बताए । करिब ३ सय घरधुरीको बसोबास रहेको बगरफाँटका बासिन्दा दुई वर्षयता सडक यातायात सुविधाबाट बञ्चित थिए ।