१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला गाउँपालिका


जनमञ्च संवाददाता
  • ५ असार २०८० , मंगलबार

  • सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला गाउँपालिका

    प्रतिकात्मक तस्बिर
    म्याग्दी, ५ असार– जिल्लाको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् । गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो ।
    सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घन्टामै पुग्न सकिने भएको मङ्गला–४ धापुङका उमेश विश्वकर्माले बताए । ‘यसअघि मङ्गलाको अर्मन–किमचौरहँुदै ताराखोला पुग्न चार घन्टा लाग्ने गरेको थियो’ उनले भने, ‘बीस किलोमिटर दूरीको सडक निर्माण भएपछि तातोपानीबाट दुई घन्टामै ताराखोला पुग्न सकिने भएको छ ।’
    ताराखोलाका बासिन्दालाई बागलुङको सदरमुकाम पुग्न पनि यो सडक छोटो र छिटो भएको छ । दुई पालिकाका करिब एक हजार घरधुरी यो सडकबाट प्रत्यक्ष लाभान्वित भएका छन् । आवतजावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीका साथै अस्पताल पुग्न छिटो र सहज भएको धापुङका मनबहादुर थजालीले बताए ।
    सडकमा जिप, ट्र्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । तातोपानीबाट सिर्खुसम्मको सडक निर्माणमा चालु आर्थिक वर्षमा मङ्गला गाउँपालिका र गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले तीनवटा खण्डमा आयोजना सञ्चालन गरेका थिए ।
    चालु आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख र मङ्गला गाउँपालिकाको १४ लाख अनुदानमा धापुङ–गुन्थाने–सिर्खु खण्डको दुई किलोमिटर पाँच सय मिटर मार्ग खोलिएको छ । न्यूखोला–एक्लेचिहान–महेश–धापुङ सडकअन्तर्गत करिब तीन सय मिटर भिरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको १० लाख र गाउँपाकिलाको १० लाख लगानी भएको छ ।
    प्रदेश सरकारबाट सडक स्तरोन्नतिका लागि थप १० लाख लगानी भएको उपभोक्ता समितिले जनाएको छ ।
    यसैगरी पखेर–जल्केनी–टुनीडाँडा हँुदै महेश जोड्ने तीन किलोमिटर सडकको मार्ग निर्माण गर्न प्रदेश सरकारबाट २५ लाख लगानी भएको छ । यस आयोजनाका लागि क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १५ लाख थपिएको छ । –रासस

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend