बागलुङ, ५ असार– धौलागिरी अस्पताल बागलुङले जटिलखालको शल्यक्रियामार्फत युवतीलाई सुत्केरी गराएको छ । सोमबार सुत्केरी हुन नसकेपछि बागलुङको निसीखोला गाउँपालिकाकी एक युवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
उद्धार गरेर पोखरा पठाईएकी युवतीलाई मौसम खरावीका कारण हेलिकप्टरले पोखरा पु¥याउन नसकेपछि धौलागिरी अस्पतालमा ल्याएको थियो । उनलाई अस्पताल ल्याउँदा साथ शल्यक्रिया गरेर बच्चा निकालिएको अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधानले बताए ।
जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत पोखरा पठाईएको थियो । बुर्तिबाङबाट उडेको प्रभु एयरको हेलिकप्टर मौसम खराबीका कारण पोखरा नजिकैबाट बागलुङ फिर्ता भएको थियो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षाअन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार भएको हो । सुनारको सुत्केरी हुने मिति १७ दिन अघि रहेको अस्पतालको भनाई छ ।
उनको जटिल किसिमको शल्यक्रियामार्फत सुत्केरी गराउनु पर्ने हुँदा पोखरा पाठाइएको तर मौसम खराबीका कारण फर्किएकी उनको बागलुङमै सफल शल्यक्रिया गरिएको प्रधानले बताए । आमा र बच्चाको अबस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।