बागलुङ, ९ असार– जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ७२ करोडको बजेट सार्वजनिक गरेको छ । शनिबार तेह्रौं नगरसभामा नगर उपप्रमुख हरिहर शर्माले ७२ करोड चार लाख ६८ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
नगरले आर्थिक विकासको माध्यमबाट गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने उल्लेख गरेको छ । ‘समृद्ध जैमिनी, खुसी र आत्मानिर्भर नगरबासी’ बनाउने दिर्घकालीन लक्षलाई प्राप्त गर्नेगरी बजेट बिनियोजन भएको शर्माले जानकारी दिए ।
जैमिनीको बजेटले नयाँ सडक निर्माणलाई निरुत्साहित गरेको छ । नगरभरि रहेका सडकको स्तरोन्नतीमा मात्रै आगामी आर्थिक बर्षको बजेट खर्च हुने छ । बजेटले चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका केही योजनाहरुमा निरन्तरता दिएको छभने कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा केही नयाँ योजना समेत ल्याएको छ ।
जैमिनी विपन्न नागरीक स्वास्थ्य उपचार कोष, दुई वडामा हेली प्याड निर्माण, टेलिमेडिसिन सेवा, सर्वोदय जनक माविलाई लिड स्कुल बनाउन बजेटले प्राथमिकतामा राखेको छ । अघिल्लो कार्यकालमा सुरु भएको वडास्तरीय दिगो सडक विकास कार्यक्रम यो बर्ष पनि प्राथमिकतामा परेको छ । लगानी सम्मेलनदेखि सडक सञ्जाल र प्रशासनीक भवन निर्माणमा सहयोग गर्ने लगायतका कार्यक्रमा बजेट बिनियोजन गरेको शर्माले बताए ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा विभिन्न शिर्षकमा प्राप्त हुने आन्तरिक आयलाई एक करोड १५ लाख पु¥याउने लक्ष राखेको छ । चालु आर्थिक बर्षमा नगरले ९० लाख रुपैयाँ आन्तरिक राजश्व उठाउने लक्ष लिएको थियो । चालु आर्थिक बर्षभन्दा आगामी आर्थिक बर्षको आन्तरिक राजश्व २५ लाखले बढी हो ।
आर्थिक विकास शिर्षकमा २ करोड ११ लाख, ८५ हजार, सामाजिक विकासमा ६ करोड ४८ लाख, ३३ हजार, पूर्वाधार विकासको क्षेत्रमा १० करोड ३४ लाख, ५० हजार रुपैयाँ बिनियोजन भएको छ । वन तथा वातावरणको क्षेत्रमा ५७ लाख विनियोजन भएको छ । चालु खर्च ११ करोड ३५ विनियोजन गरेको शर्माले बताए ।