पर्वत, २१ असार– जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ ।
संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो ।
चालु आर्थिक वर्षमा ४ लाख बजेट विनियोजन गरिएको ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’मार्फत संस्थागत सुत्केरी भएकालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।
“२०७९ साउनदेखि यही असार मसान्तसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गर्ने कार्यक्रम छ”, उनले भने, “पालिकाका–१, २, ३, ४, ७, ८ र ९ का करिब दुई सय सुत्केरीलाई घ्यू र अण्डा सम्बन्धित वडामा पुगेर वितरण गरिएको हो, वडा नं ५ लेकफाँट र ६ शालिजामा आज वितरण गर्ने कार्यक्रम छ ।”
सुत्केरी, गर्भवती तथा बच्चा दुई वर्षको हुँदासम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ । लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट उपाध्यक्षको सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको हो ।