काठमाडौं, २१ असार– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।
दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।
नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, नेपाल टेलिकम लगायतबाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।