प्रतिकात्मक तस्बिर
पर्वत, २४ असार– जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिंगो गाउँ पहिरोको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिंगो डाँडा चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो ।
निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुंगासहितको लेदोले खेतबारी पुरिन थालेको छ । पहिरोले लेखफाँटका तीन सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार पहाडको सबै भाग चर्किएकाले जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । डाँडामुनि रहेका मूलघडेरी, गैरीगाउँ, पूर्णगाउँ र माझफाँटसम्म जोखिम रहेको आचार्यको भनाई थियो ।
वर्षायाम सुरु भएसँगै खेतबारीमा रोपेको धान, कोदो पहाडबाट झरेको लेदोले पुरिन थालेपछि गाउँलेले स्थानीय सरकारलाई गुहारेका छन् । पालिकाका जनप्रतिनिधिसहित जिल्ला विपद व्यवस्थापन समितिको टोलीले जोखिमपूर्ण स्थलको अवलोकन गरेको छ ।
स्थानीय पदम कार्कीले पहाड नै चर्किएपछि बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए । ‘लेदोले खेतीबालीसमेत पुरिएको छ, कमेरे माटोमा खेती नहुने भएकाले हिउँदमा समेत खेतीबाली लगाउन नमिल्ने भइसक्यो’ कार्कीले भने ।
गाउँपालिकाले भने बस्तीमा ढुंगामाटो आउन नदिन तत्कालका लागि ड्याम बनाएर व्यस्थापन गर्ने योजना बनाएको छ । यो योजना दिर्घकालीन नहुने स्थानीयको भनाई छ । मानव बस्तीलाई जोगाउनतर्फ लाग्नुपर्ने स्थानीयले अनुरोध गरेका छन् ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले उक्त क्षेत्रको अवस्था भयावह रहेको बताए । प्राकृतिक प्रकोपलाई कसैले रोकेर रोक्न नसकिने जनाउँदै पौडेलले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिने अवस्था रहेको बताए । –रासस