बागलुङ, १ साउन– कृषि ज्ञान केन्द्र बागलुङ, भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक बर्ष २०७९÷०८० मा भएका कामको सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सुनुवाइमा तीनवटै कार्यालयका प्रमुखले अधिकांस योजनाको प्रगती ८० देखि ८४ प्रतिशत सम्म भएको प्रस्तुतीकरण गरेका थिए । जिल्लामा कृषि उत्पादन, पशुपालन र अन्य बाली प्रवद्र्धनमा पनि उल्लेख्य प्रगती भएको जानकारी गराए ।
सुनुवाइको क्रमका किसानले भने बार्षिक कार्यक्रमको प्रगती राम्रो देखिएपनि वास्तविक रुपमा कृषि क्षेत्रमा प्रगती हुन नसकेको गुनासो गरे । उनीहरुले पछिल्लो समय बाँझो जमिन बढ्दै गएको, उत्पादन लागत बढेको, सिंचाइका समस्या बढेका र बजारीकरणमा समेत समस्या भएको गुनासो गरेका थिए ।
‘ कार्यक्रममा जैमिनीका किसान डिल्लीप्रसाद शर्माले कृषि उत्पादन बढाउने किसानको योजना बाँदर आतंकले अलपत्र परेको बताए । उनले आम किसानको समस्या समाधानमा कृषि क्षेत्रका तीनवटा कार्यालयले के काम गरेका छन् भनेर प्रश्न उठाएका थिए ।
पछिल्लो समय कृषि क्षेत्रको समस्याको रुपमा बाँदर रहेकोले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने कुरा धेरै नै रहेको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको भनाइ थियो । ‘किसानको उत्पादन लागत बढ्नु राम्रो होइन’ थापाले भने ‘उत्पादन भएको बस्तुले बजार पाउनु पर्छ, सुरक्षित हुनुपर्छ भन्नेमा हामी सचेत बन्नुपर्छ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उत्पादकत्व बढ्नु र राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढाउनु आवस्यकता भएको बताइन् । उनले उन्नत बीउ, समयमा मल पाउने व्यवस्था र उत्पादनमा आधारिक अनुदान नीति बनाउन सके किसान बढ्ने, उनीहरुले उत्पादनमा जोड दिने अबस्था आउने बताइन् ।
भेटेनरी तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटाले व्यवसायिक उत्पादन गर्दा धेरै फसलको मूल्य घट्ने बताए । साथै उनले जिल्लामा दूध उत्पादनको २० प्रतिशत मात्रै बजारमा आएको भन्दै अरु घरायसी काममा खर्च भएको बताए ।
कृषि ज्ञान केन्द्र प्रमुख भानुभक्त भट्टराईले धानको उत्पादन बढ्दै गएको, समूह र कृषि फर्मबाट उत्पादन गर्ने क्रम बढेको र त्यसले बजारीकरण समेत भएको बताए । केन्द्रले बिपन्न लक्षित क्षेत्रमा उत्पादनमुखी कार्यक्रम लगेको, मुख्यमन्त्री जलवायुमैत्री कार्यक्रम संचालन भएको, आलु र मकै जोनको क्षेत्र संचालनमा आएको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सुजित पौडेलले बाख्रा जोन क्षेत्रको जानकारी दिंदै आधुनिक खोर निर्माणले उत्पादकत्व पनि बढाएको बताए । पछिल्लो समय बाख्राको उत्पादन बढेको, परियोजना मार्फत ओखर खेती र स्याउ लगाउने काम भएको पनि जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको अध्यक्षता, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनको संचालन र भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटाको स्वागतमा भएको कार्यक्रमको टिप्पणी पत्रकार तारानाथ आचार्यले गरेका थिए ।