म्याग्दी, ५ भदौ– अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् ।
साउन ३२ गतेको वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।
पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइजाको घरमाथिबाट आएको पहिरोले घरमा पूर्णरुपमा क्षति पु¥याएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिए ।
पुर्जाका अनुसार, पहिरोले आठ घरपरिवार पहिरोको उच्च जोखिममा छन् भने थप १० घरधुरीसमेत पहिरोको जोखिममा रहेका छन् । दानाको सुवासँगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ ।
सुवा गाउँको शिर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्कबिच्छेद भएको थियो भने सुरक्षित ठाउँमा जान नसक्ने अवस्था आएको थियो । पहिरोको चपेटामा परेका स्थानीयलाई सुरक्षित स्थानमा बसोबासका लागि आवतजावन गर्न आइतबार दानाका स्थानीयले पहिरो पन्छाएर अस्थायी बाटो बनाएका छन् ।
पहिरोले उच्च जोखिममा रहेका १० घरपरिवारलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा स्थानान्तरण गरिएको छ ।
आइतबार सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बसोबासको पूर्वाधार निर्माण गरेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाका अनुसार, सुवालगायत दानाका विभिन्न ठाउँमा पहिरोको जोखिममा परेका स्थानीयलाई गाउँपालिकाले त्रिपाल, टेन्ट, खानेपानीको पाइपलगायतका अत्यावश्यक सामग्रीसमेत वितरण गरेको छ ।