बागलुङ, २१ भदौ– जिल्ला समन्वय समिति बागलुङले आर्थिक बर्ष २०७८/०७९ मा १० वटै स्थानीय तहको आन्तरिक मूल्यांकन गरेको छ । १ सय अंक भार राखेर बिभिन्न सूचकमा गरेको मूल्यांकनमा जैमिनी नगरपालिकाले सबैभन्दा धेरै ६६ अंक पाएको छ ।
जिल्लाका सबै स्थानीय तह र संघ तथा प्रदेश कार्यालयको बार्षिक समीक्षाको अबसरमा समन्वय अधिकारी कृष्णराज गौतमले समन्वय समितिको कामबारे प्रस्तुत गर्दै पालिकाको अंकतालिका पनि सार्वजनिक गरेका हुन् । मूल्यांकनमा दोस्रो भएको बरेङ गाउँपालिकाले ६५ अंक पाएको छ ।
त्यस्तै, काठेखोला र तमानखोला गाउँपालिकाले ६३ अंक पाएका छन् भने गलकोट नगरपालिकाले ६२ अंक, बागलुङ नगरपालिकाले ५९ अंक, ताराखोला गाउँपालिकाले ६१ अंक पाएका छन् । ढोरपाटन नगरपालिकाको ५६ अंक, बडिगाड गाउँपालिकाले ५५ र निसीखोला गाउँपालिकाले ५३ अंक प्राप्त गरेको छन् ।
दशवटै पालिकाको अनुगमनपछि आवस्यक सुझाव दिइएको हो । त्यस्तै सबै स्थानीय तहका ५ औं देखि नवौं तहसम्मका कर्मचारीको कासमु अनुगमन मूल्यांकन गरिएको उनले जानकारी दिए । वार्षिक प्रतिवेदन तयार पारेर संघिय मामिला मन्त्रालय र गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा पनि बुझाइएको छ ।