बागलुङ, २४ भदौ– भ्रष्टाचारमुक्त समाज बनाउन सबैको हातेमालो आवस्यक पर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले नागरिक आँफै सचेत भएमा मात्र भ्रष्टाचार नियन्त्रण हुने उनीहरुको भनाइ छ ।
भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्थाको आयोजनामा शनिबार सम्पन्न ‘भ्रष्टाचार नियन्त्रणका लागि नागरिकको भूमिका बिषयक’ अन्तरक्रियाका सहभागीले भ्रष्टाचार नियन्त्रण नभएसम्म विकासले गति लिन नसक्ने धारणा राखेका थिए ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सुशासनयुक्त नगर बनाउने अभियानमा सरोकारवालाको हातेमालो आवस्यक भएको बताए । ‘भ्रष्टाचारमुक्त बागलुङ बनाउने पहल सबैले गरौं, नगरपालिका त्यसको अगुवाइ गर्न चाहन्छ’ उनले भने, ‘सकारात्मक सोचबाट पनि धेरै काम गर्न सकिन्छ ।’ उनले जनप्रतिनिधि वा कर्मचारीलाई ठेगान लगाउने निहुँमा मुद्दा दिने प्रवृत्ति बढेको भन्दै त्यस्ता कामले काम गर्ने जोश र जाँगर मर्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले सुशासनका लागि नागरिकको चासो आवस्यक पर्ने बताए । कुन काम भयो भएन वा गुणस्तरको छ की छैन भन्ने कुरा नागरिकले पनि अनुगमन गर्न सक्ने उनले बताए ।
भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, सचिव रामबहादुर केसीको संचालन र सदस्य एकबहादुर केसीको स्वागतमा सम्पन्न कार्यक्रममा अधिवक्ता हरिकृष्ण सुवेदीले भ्रष्टाचार के हो ? भ्रष्टाचार कसुरबिरुद्ध के कस्ता उजुरी दिन पाइन्छ ? कानूनी प्रावधान र कारवाही प्रकृयाबारे प्रस्तुतीकरण गरेका थिए ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सिनियर डिभिजन इन्जिनियर नवराज पौडेलले अख्तियारको काम तथा कर्तव्य, हाम्रो समाज, सरकारी संस्था र स्थानीय तहमा हुन सक्ने संभावित भ्रष्टाचार र अनियमितताबारे जानकारी गराएका थिए । त्यस बिषयमा प्रस्तुती गरेका पौडेलले जनताले लागतभन्दा बढी मूल्यको काम गरेपनि प्रक्रिया नपुगेको, लागत स्टिमेटभन्दा घटी वा बढी काम गरेको बिषय अख्तियारको क्षेत्राधिकार पर्ने बताए ।
उक्त अबसरमा पत्रकार प्रकाश बरालले सुशासन कायम गर्न संचार क्षेत्रले के कस्तो भूमिका खेलेको छ भन्ने प्रस्तुती गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङत बराल, बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत धनप्रसाद पोखरेल, वडा नं. ३ का अध्यक्ष शनि केसी लक्ष्मण, गोबिन्द ओझा, लक्ष्मण पौडेल लगायतले बोलेका थिए ।