बागलुङ, २४ भदौ– उच्च अदालत बार एसोसिएसन बागलुङको अधिवेसनमा सहमति कायम गर्न बनेको सहजीकरण समितिले रमेशबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको छ । बिहिवार उमेदवारका लागि आब्हान गरेको मनोनयनका उमेदवार हटाएर नयाँ अध्यक्ष घोषणा गर्न सिफारिस गरेपछि निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।
निर्वाचन समितिले यसअघि दर्ता भएका उमेदवारमध्ये अध्यक्षमा नयाँ दर्ता गर्ने समय दिएर दुइ अध्यक्षका उमेदवारलाई हटाएको हो । अध्यक्ष पदका लागि उमेदवारी दिएका भूमिश्वर गौतम र हरिकृष्ण सुवेदी दुवैलाई अध्यक्ष उमेदवारबाट हटाएर उपाध्यक्षको उमेदवारी दिएका खड्कालाई अध्यक्ष बनाएको हो ।
‘हलबाट बनेको मेलमिलाप गर्ने समितिले ल्याएको लिस्टलाई सार्वजनिक गरेका हौं’ बरिष्ठ अधिवक्ता तथा निर्वाचन समितिका संयोजक पद्मनाथ शर्माले भने, ‘उमेदवारी दर्ता दुइ दिनअघि सकिएको थियो, मेलमिलाप समितिले आग्रह गरेपछि शनिबार केहीबेर म्याद थपेर नामाबली दर्ता गरेका हौं ।’
अध्यक्षका उमेदवार परेकाहरुबाट निर्विरोध बनाउने भनिएकोमा बाहिरका मानिस ल्याउने अधिकार नभएको अधिवक्ताहरुले टिप्पणी गरेका छन् । ‘यो विधि र पद्दती मिचेर घोषणा गर्ने काम भयो’ एक अधिवक्ताले भने, ‘क्षेत्राधिकार मिचेर समितिले काम गर्न मिल्दैन ।’
अध्यक्षको उमेदवारी दर्ता गरेका हरिकृष्ण सुवेदीलाई समितिले उपाध्यक्षमा राखेको छ । सुवेदी शनिबार दिनभर भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्थाको कार्यक्रममा सहभागि थिए । उनले समेत आँफू उपाध्यक्ष बनेको धेरै समयपछि थाहा पाएको बताए । समितिले सचिवमा उमाशंकर सापकोटा, सहसचिवमा लक्ष्मी जिसी कार्की र कोषाध्यक्षमा लक्ष्मी बास्कोटालाई घोषणा गराएको छ ।
सदस्यमा डिल्लीराज गौतम, हरिप्रसाद गौतम, ज्ञानेन्द्रराज पन्त, गोविन्द प्रसाद ओझा, बिष्णुप्रसाद शर्मा, तेजेन्द्रबहादुर थापा, युक्तजंग राजभण्डारी र संजीवकुमार श्रेष्ठ छन् । केन्द्रीय पार्सदमा निरन्जन लाल राजभण्डारी, सरिता केसी, रामराज कंडेल र बलराम शर्मा को नाम सार्वजनिक गरिएको हो ।