बागलुङ, ३१ भदौ– पछिल्लो समय आत्महत्याका घटना बढेकोले न्युनिकरणका लागि स्वास्थ्य कार्यालय बागलुङले सो सम्बन्धी अध्ययन गर्ने र न्युनिकरणमा पहल गर्ने भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा आर्थिक बर्ष २०७९/८० को समीक्षा कार्यक्रमपछि जारी घोषणा पत्रमा सबै पालिकाले मानसिक स्वास्थ्य सम्बन्धी अभियान चलाउने घोषणा गरेको हो । मानसिक समस्याका कारण आत्महत्या बढेको समेत सहभागि जिल्लाका दशवटै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा अन्य स्वास्थ्यकर्मी, धौलागिरि अस्पतालका प्रतिनिधि समेतको ठहर थियो ।
शतप्रतिशत खोपको मात्रा पुगेको जिल्ला बनाउन र ड्रपआउट घटाउन लाइन लिस्टङ गर्ने, ड्रपआउटलाई फलोअप गर्ने र आबस्यकता अनुसार खोप केन्द्र थप गर्ने समेत घोषणापत्रमा उल्लेख छ । २२ बुधे घोषणापत्रमा बालमैत्री जिल्ला बनाउने अभियानमा पनि स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसबारेका सूचक पुरा गर्न सँधै तयार रहने उल्लेख गरिएको छ ।
स्वास्थ्य संस्थामा रेकर्ड पद्दती व्यवस्थित बनाउने पनि घोषणामा उल्लेख छ । सबै पालिकाले बिद्युतीय रेकर्ड पद्दती बसाल्दा यकिन तथ्यांक प्राप्त हुने र बाल स्वास्थ्यमा सुधार ल्याउन सकिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।
हरेक स्वास्थ्य संस्थामा रहेका खोप बचाउन कोल्ड चेन पद्दतीलाई प्रभावकारी बनाउने उनीहरुले घोषणा गरेका छन् । ‘कोल्ड चेनमा एक मिनेट पनि खरावी आयो भने खोपले काम गर्दैन’ शर्माले भने, ‘बरु कार्यालय संचालनमा कर्मचारी नभए पालो गरौं, कोल्ड चेन बिग्रियो भने उपचार गरेको अर्थ हुँदैन ।’ हेपाटाइटिस बी लगायतका रोग बिरुद्धको खोप माइनसमा राख्न नसकेमा काम नगर्ने हुँदा बिरामी निको नहुने उनले बताए । त्यस्तै अन्य रोगमा पनि तोकिएकै तापक्रम हुनुपर्नेमा कार्यालय सहयोगीको भरमा छाडियो भने करोडौं लगानीपनि डुब्ने र उपचार पनि प्रभावहिन हुने स्वास्थ्यकर्मीको ठहर छ ।
उक्त अबसरमा स्वास्थ्य कार्यालयले बागलुङका दश पालिका र सबै स्वास्थ्य चौकीको आन्तरिक मूल्यांकन गरेको थियो । उक्त मूल्यांकनमा बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रथम भएको छ । त्यस्तै बडिगाडकै आधारभूत स्वास्थ्य सेवा केन्द्र खरवाङले उत्कृष्ठ संस्थाको पुरस्कार पाएको छ ।