बागलुङ, ४ असोज– आठौं संविधान दिवश बागलुङमा पनि मनाइएको छ । संविधान दिवशको अबसरमा बुधबार प्रभातफेरी र प्रवचन कार्यक्रम गरिएको हो । कार्यक्रममा बागलुङका राजनीतिक दल, स्थानीय तह र कर्मचारी र सुरक्षा निकाय सहितको सरोकारवालाको सहभागिता थियो ।
बागलुङ नगरपालिका–१ को सहिद पार्कमा आयोजित मुल समारोहमा वक्ताहरुले जनजिविकाको पक्षमा काम गर्न सकेमा मात्र संविधान दिवश मनाएको सार्थक हुने बताए । उनीहरुले संविधानमा लेखिएको कुराले मात्र जनताको समस्या समाधान नहुने भन्दै अक्षरलाई जीवनमा जोड्नुपर्ने धारणा राखेका थिए ।
संविधानसभाका सदस्य चम्पादेवी खड्काले संविधानले समावेशीता ल्याएको भन्दै महिला, दलीत, जनजाती समेतले अधिकार पाउन थालेको बताइन् । अर्का सदस्य नरबहादुर थापाले संविधानले समेटेको क्षेत्रलाई दलहरुले कार्यान्वयनको पाटोमा लैजान नसकेको टिप्प्णी गरे ।
गण्डकी प्रदेशसभा, नेकपा माओवादी केन्द्रकी सचेतक कुशुम बुढाले संविधान निर्माण अघिका संघर्ष र जनयुद्दको भावना अनुसार काम गर्न राज्यका निकाय सक्षम बन्नुपर्ने बताइन् । अर्का सदस्य डिल्लीराम सुवेदीले संविधान निर्माणले अधिकारको संस्थागत बिकास गरेपनि कर्तव्यलाई बोध गराउन नसकेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको स्वागत र जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बोलेका थिए ।
प्रवचन कार्यक्रमअघि सरोकारवालाले बागलुङ बजारमा प्रभातफेरी गरेका थिए । प्रभातफेरीमा स्थानीय आमा समूह, उद्यमी सहितको ¥यालीमा सेना, प्रहरी र सशष्त्र प्रहरी बलका जवान, सामुदायिक प्रहरी सेवाका प्रतिनिधि सहभागि थिए । संविधान दिवशको अबसरमा कार्यालयहरुमा दिपाबली गर्ने, आफ्नो कार्यालय क्षेत्रमा सरफाइ गर्ने कार्यक्रम समावेश गरिएको सहायक प्रजिअ बरालले जानकारी दिए ।