बागलुङ, ८ असोज– पर्यटन यामको छेको पारेर हिमालपारी कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो ।
दशैं तिहारजस्ता पर्वहरुको बिचमा मुस्ताङ भित्रिने पर्यटकलाई गाउँपालिकाका पर्यटकीय स्थलहरुमा घुमाउने, गाउँपालिकाभित्र उत्पादन हुने स्थानीय कृषि बालीको प्रचारप्रसार र प्रबद्र्धनका लागि कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । असोज १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । आसोज २० गतेसम्म बिबिध खेलकुद तथा सांकृतिक कार्यक्रमसहित हुने महोत्सवमा घरपझोङमा फलेका कृषि बालीको प्रदर्शन हुनेछ ।
‘गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन र महोत्सवको उद्घाटन एकै दिन गर्ने कार्यक्रम छ’ अध्यक्ष लालचनले भने ‘गाउँपालिकाका धेरै क्षेत्रको प्रचार र प्रबद्र्धन गर्नुपर्ने छ, महोत्सवले प्रचार र प्रबद्र्धनमा सहयोग गर्छ ।’ कृषि उत्पादन, कला संस्कृति र खेलकुद तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएर पनि गाउँपालिकाभित्र पर्यटक कम पुग्ने गरेका छन् ।
‘पुरानो मार्फा गाउँ, धुम्बा ताल, तिलिचो लेक, छैलो झरना लगायतका प्रकृतिक सम्पदा हामीसँग छन्’ लालचनले भने ‘हाम्रा खानाका परिकार, कृषि उत्पादन सबैका लागि स्वादिला हुने छन् ।’ गाउँपालिकाले दशैभरिबाट पर्यटकहरुलाई महोत्सवमा निम्ता गरेको छ । घरपझोङमा फलेको आलु, फापर, सिमी, स्याउ कोशेलीको व्यवस्था मिलाईएको छ ।
महोत्सवमा खुल्ला भलिबल र खुल्ला तारा खेल प्रतियोगिता आयोजना गरिएको छ । भलिबलमा प्रथम हुनेलाई एक लाख र दोस्रो हुनेलाई ५० हजार तथा तारा खेलमा पहिलो हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
महोत्सवमा कृषि उपज प्रदर्शन गर्ने किसानहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट कृषि उत्पादन प्रदर्शन गर्ने किसानले बिद्यागत रुपमा पुरस्कार पाउने उनले बताए । स्थानीय जातको स्याउ प्रथम हुनेलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रोलाई दुई हजार रुपैयाँ पुरस्कार दिने कार्यक्रम छ । स्याउ हाईब्रिड, स्थानीय जातको फापर, आलु सेतो, काँडे करेला, फर्सी, कांक्रो, गाजर, मुला चुकन्दर, गोलभेँडा, खुर्सानी, बन्दा काउली लगायतका बाली प्रदर्शनमा उत्कृष्ट हुने किसानलाई पाँच हजारदेखि एक हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।