बागलुङ, ९ असोज– बागलुङका चार नगरपालिका अझै अर्काको घरमा बसेका छन् । स्थानीय तहको अभ्यास भएको ८ बर्ष र जनप्रतिनिधिको ६ बर्ष बितिसक्दा पनि बागलुङका चारवटा नगरपालिका आफ्नो घरमा बस्न नसकेका हुन् ।
सदरमुकाममा रहेको बागलुङ नगरपालिकाको पनि आफ्नो घर छैन । बिभिन्न सरकारी कार्यालयका पुराना भवनमा छरिएर बसेको छ । अन्य तीन नगरपालिकाले बर्षेनी लाखौं भाडा तिरेर बसेका छन् ।
बागलुङ नगरपालिकाले जग्गा नपाएर आफ्नो भवन बनाउन सकेको छैन भने ढोरपाटन नगरपालिकाले घर बनाउने सुरसार गरेको छैन । गलकोट र जैमिनी नगरले थालेको काम समयमा पुरा नहुने अबस्था आएपछि अझै कतिबर्ष भाडा तिरेर बस्ने हो भन्ने उनीहरुले समेत बताउन सकेका छैनन् ।
काम थालेका नगरका भवन पनि अलपत्र छन् । गलकोट नगरपालिकाले मासिक डेढलाख बढी घरभाडा तिर्नुपर्छ । आफ्नै भवन बनाउन जग्गा खोज्दा ५ बर्ष लाग्यो । बल्लबल्ल व्यवस्थापन गरिएको ७ रोपनी जमिनमा भवनको ठेक्का लगाएको एक बर्षमा भुइतला पनि बन्न सकेको छैन । ठेकेदारले ढीलाई गर्दा दोश्रो कार्यकाल पनि भाडाकै घरमा बस्न बाध्य भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । वडा नंं. ६ को चरौंदी फाँटमा भवन निर्माणाधिन छ । गतबर्षको जेठमा ठेक्का लिएको रबिना जुगल संयुक्त निर्माण कम्पनीले एकबर्षमा भुइतलाको काम पनि नसकेको हो ।
जैमिनी नगरपालिकाको प्रशासकीय भवन पनि सोही निर्माण कम्पनीले ठेक्का लिएर ढीलाइ गरेको छ । १२ करोड १४ लाखमा सक्नुपर्ने यो भवनको बल्ल पहिलो तल्ला ढलान भएको छ । समयमा काम सकिनेमा यहाँ पनि अन्यौल छ । ‘हामीले पहल त गरिरहेका छौं, कामले सोचेजस्तो सफलता मिलेको छैन’ इन्जिनियर बिबेक सापकोटाले भने, ‘बर्षेनी लाखौं भाडा तिर्नुपर्ने पालिकाको खर्च जोगिंदा अन्य क्षेत्रमा लगानी गर्न सकिन्थ्यो ।’
सोही निर्माण कम्पनीले बागलुङ नगर अस्पताल, तमानखोलाको बोङगादोभान खोलामा पक्की पुल बनाउनेसहित दर्जन ठेक्का लिएका छन् ।