पर्वत, १४ असोज– शनिबार साँझ भएको भीषण वर्षासँगै आएको बाढीले जिप बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
भीषण वर्षापछि मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिका–७ र ८ को सिमानाका रूपमा रहेको तमादी खोलामा आएको ठुलो बाढीमा पर्दा बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जिप नै बगाएको थियो । जिपमा सवार रुपन्देहीको तिलोत्तमा नगरपालिकाका गोपाल बस्यालको शव फेला परेको छ भने अन्य दुई जनाको अवस्था अज्ञात छ । मृत भेटिएका गोपालको शव पर्वत अस्पतालमा राखिएको छ भने उनका आफन्तहरू रुपन्देहीबाट पर्वत आउँदै छन् ।
बेपत्ता दुई जनाको अझैसम्म पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए । घटना लगत्तै पुगेको सुरक्षाकर्मीहरूको टोलीले तमादी खोला र उक्त खोला मिसिने मोदी खोलासम्म नै खोजी गरेको भए पनि तत्कालै जिप र त्यसमा सवार यात्रुहरूको बारेमा पत्ता लाग्न सकेन । पछि भने जिप करिब चार सय मिटर तल मोदी खोलाको किनार नजिकै भेटिएको डि.एस.पी भुसालले बताए ।
‘खोलामा अचानक ठुलो बाढी आएपछि जिप बगाएको हो । घटना लगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले जिपको खोजी गर्दा करिब चार सय मिटर तल जिप भेटियो’, उनले भने, ‘बेपत्ता रहेका तीन जनामध्ये एक जनाको शव भेटिएको भए पनि अरू दुई जनाको अवस्था अज्ञात छ । उनीहरूको खोजीकार्य जारी नै छ ।’
यसअघि २०७८ सालको असार २२ गते साँझमा तमादी खोलापछि आउने दोबिल्लामा रहेको सुन्दरे खोलामा यसैगरी आएको बाढीले मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित तीन जनालाई गाडीसहित बगाएको थियो ।