बागलुङ, २२ असोज– बेलायतमा बस्ने बागलुङकी एक १३ बर्षिय बालिकाले संकलन गरेको सहयोगबाट बिद्यालयका बिद्यार्थीलाई सामाग्री बितरण गरिएको छ ।
बागलुङ नगरपालिका वडा नं. १२ घर भइ बेलायतको लण्डनस्थित रिभर एकेडेमीमा अध्ययन गर्ने छात्रा टिया आचार्यको नेतृत्वमा संकलित रकमबाट ती सामाग्री बितरण गरिएको हो । आचार्यले संकलन गरेको रकमबाट अमलाचौरको जगन्नाथ प्राबिमा पढ्ने २५ जना बालबालिकालाई ज्याकेट, ट्रयाक सुट, जुत्ता, झोला तथा स्टेशनरी सामान सहयोग दिइएको हो ।
आइतबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी र कृष्ण पाठकले ती सामाग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए । टियाका बाबु चिरन शर्माले एक बर्षअघि छोरी नेपाल आउँदा देखेको बिद्यालयलाई सहयोग गर्न चाहेपछि यो बर्ष सहयोग लिएर आएको बताए ।
कार्यक्रममा सुवेदीले अबका दिनमा सामुदायिक बिद्यालय बचाउन बिद्यार्थी टिकाउन सक्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न सकेमा मात्र भोलीका दिनमा बिद्यालय रहने भन्दै नत्र ग्रामीण तहका साना बिद्यालयहरुको अस्तित्व जोगाउन मुस्किल पर्ने बताए ।
सांसद पाठकले बालबालिका पढाउने नाउँमा सहर पस्ने र बिदेश जानेबाट गाउँघरका बिद्यालय सुनसान भएको भन्दै बेलैमा बचाउने अभियानमा अभिभावक लाग्नुपर्ने सुझाव दिए । उनले बिद्यालयमा गुणस्तर पनि बढाउनुपर्ने भन्दै राज्यले शिक्षा क्षेत्रलाई प्राथमकिता दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलिया, वडा अध्यक्ष कोपिलामणी शर्मा लगायतले बोलेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षता, चिरन शर्माको संचालन प्रधानाध्यापक बुद्धि चापागाईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।