प्रतिकात्मक तस्बिर
बागलुङ, ३० असोज– मध्यपहाडी लोकमार्गअन्र्तगत पर्ने गलकोट नगरपालिका वडा नं. १ को काफलठूटादेखि गौदी जोड्ने झोलुङ्गे पुल संचालनमा आएको छ ।
केही समय निर्माण सम्पन्न भएपछि आइतबार माओवादी नेता मेघनाथ शर्माले पुलको उद्घाटन गरे । उनले विकासका कामलाई सबै मिलेर अगाडि बढाउन सक्नुपर्ने बताए । आबस्यकतालाई बेलैमा पहिचान गर्न सक्दा बजेट र कार्यक्रममा अभाव नहुने तर काम समयमा सक्ने अबसर सिर्जना गर्नुपर्ने उनको भनाई थियो ।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्र्तगत सस्पेन्सन ब्रिज महाशाखाले १ करोड ४४ लाख लागतमा पुल बनाएको थियो । २ सय २७ मीटर लामो यो पुल बनेपछि लोकमार्गबाट गाउँ जान सहज भएको हो । यसअघि उक्त गाउँ जान झण्डै एक घण्टा लाग्थ्यो । अब भने पुल ५ मीनेटमै छोटिएको नगर कार्यपालिका सदस्य तथा पुल निर्माण अभियानकी अगुवा धनकुमारी खत्रीले बताइन् ।
२०७९ मा शुरु भई गत असारमा पुल बनाइसकिएको थियो । पुल उद्घाटनका असरमा वडा अध्यक्ष लालबहादुर राना, कांग्रेस वडा सभापति हिमबहादुर खड्का, एमालेका अध्यक्ष भीमबहादुर भण्डारी, माओवादीका नगर सचिवालय सदस्य जीवन भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नेत्र बुढाथोकी, नेकपा एकीकृत समाजबादीका तिलबहादुर खड्का तथा समाजसेवी ललिता थापाले पुलबाट वडामा ठूलो सहयोग मिलेको बताएका थिए ।