बागलुङ, २३ कात्तिक– जिल्ला प्रशासन कार्यालय बागलुङले दिपावलीको अवसरमा जुवातास, कौडा, लगाएत पैसाको हारजित हुने गरि कुनै पनि खेल नखेल्न÷नखेलाउन आग्रह गरेको छ ।
नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिदै गरेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले पैसाको हारजित हुने गरि खेल नखेल्न÷नखेलाउन आग्रह गरेको हो ।
कार्यालयले एक सुचना जारी गर्दै चाडपर्वको अवसरमा खेलिने जुवातास र कौडा जस्ता खेलले जनजिवननै प्रभावित हुने भएकाले यस्तो कार्य नगर्न आग्रह गर्दै यदि गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जारी गरेको सुचनामा दिपावली मनाउने क्रममा भुइचम्पा, पटाका, आतिसवाजी जस्ता बिष्फोटक पदार्थ एवँ नियन्त्रित र निषेधित बस्तुको ओसारपसार, बिक्री बितरण नगर्न पनि आग्रह गरिएको छ ।
प्रसाशन कार्यालयले दिपावलीका अवसरमा खेलिने दैउसी भैलो लगाएतका साँस्कृतिक कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नगर्ने गरि मर्यादित एवँ अनुसाशित रुपमा रातको ९ बजेसम्म मात्र संचालन गर्न सुचनामा उल्लेख गरेको छ ।
कार्यालयले बजारमा कृतिम अभाव सिर्जना नगर्न, कालोवजारी नगर्न, अस्वभाविक मृल्यबृद्धि नगर्न नगराउन पनि अपिल गरेको छ । सुचनामार्फत अनावश्यक होहल्ला नगर्न, ट्राफिक नियम पालना गर्न, झैझगडा नगर्न पनि आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।