बागलुङ, २४ माघ– विद्यामन्दिर पुस्तकालय बागलुङको ७७ औँ स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाइने भएको छ । देशकै पुरानो र अग्रणीमध्येको उक्त पुस्तकालय २००३ श्रीपञ्चमी पर्वका दिन स्थापना गरिएको थियो ।
सोही तिथिलाई पारेर यस वर्ष माघ २९ देखि फागुन २ गतेसम्म विविध कार्यक्रमसहित दिवस मनाउन लागिएको पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिए । थापाका अनुसार दिवसको पहिलो दिन सरसफाइ सचेतना र दिवसको प्रचारात्मक कार्यक्रम गरिनेछ ।
दिवसको दोस्रो दिन फागुन १ गते बिहान प्रभातफेरी, सोही दिन पुस्तकालयको महत्व र आवश्यकता विषयक अन्तरक्रिया र पुस्तकालयद्वारा सञ्चालित बाल विकास केन्द्रका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताए । फागुन २ गते श्रीपञ्चमी पर्वका दिन दिवसको मुख्य समारोह आयोजना गरिने उनको भनाई छ ।
सो दिन सरस्वती पूजा, पुस्तकालयको महत्वबारे प्रवचन, पूर्वअध्यक्ष सम्मान, बालबालिकालाई झोला र स्टेनशनरी सामग्री वितरण, दाताहरुबाट पुस्तकालयलाई सहयोग हस्तान्तरणलगायत कार्यक्रम हुने पुस्तकालयका सचिव शर्माले बताए ।
पुस्तकालयको इतिहासमा पहिलोपटक गत वर्षदेखि स्थापना दिवस मनाउन थालिएको हो । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको सामाजिक, राजनीतिक जागरणको केन्द्रको रुपमा समेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ । स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक संग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् ।
पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय पनि छ । पुस्तकालयले बाल विकास केन्द्र पनि सञ्चालन गरिरहेको छ । प्रारम्भिक चरणमा विद्यालयको कोठाहुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्ताकालय आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ । दिवंगत ओमप्रसाद गौचन र मेघकुमार वैद्यले पुस्तकालय स्थापना गरेका थिए ।