८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेस बागलुङको पहिलो निर्णय: गौरवका आयोजना सक्न दबाब


जनमञ्च संवाददाता
  • १२ पौस २०७८ , सोमबार

  • कांग्रेस बागलुङको पहिलो निर्णय: गौरवका आयोजना सक्न दबाब

    बागलुङ, १२ पुस – चौधौं महाधिवेशनबाट निर्वाचित भएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पहिलो बैठक बसेको छ । आइतबार भएको बैठकबाट राष्ट्रिय गौरवका आयोजना निर्माणमा दबाब दिने निर्णय गरेको छ ।

    बागलुङमा अहिले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी ढोरपाटन सडक र उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माणाधीन छन् । ती आयोजना छिटो सक्न दबाब सिर्जना गर्ने निर्णय समेत गरेको सभापति जीतबहादुर शेरचनले बताए । त्यसका लागि नेताहरु जोडिएपनि दबाब दिन पछि नपर्ने शेरचनले प्रतिवद्धता जनाए ।

    कांग्रेसले संगठन सुदृढीकरण अभियानलाई पनि प्राथमिकतामा राखेको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति जीतबहादुर शेरचनले पार्टीलाई फेरि पहिलो पार्टी बनाउन अगुवाई गर्ने बताए । उनले पार्टीको आफ्नै भवन बनाउने निर्णय समेत गरेको जानकारी दिए ।

    भवन निर्माणकालागि पहिलो बैठकमै ७ लाख ६१ हजार रुपैयाँ संकलन समेत भैसकेको जानकारी गराइएको थियो । जानकारी अनुसार जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले २ लाख ५० हजार, क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले २ लाख १ हजार १ सय ५१, सदस्य तेजेन्द्र कुँवरले एकलाख, टिकाराम थापाले १ लाख ११ हजार, कृष्णबहादुर घिमिरेले १ लाख रुपैयाँ संकलन गरिसकेका हुन् ।

    आगामी निर्वाचनकालागि तयार रहन सबै नेता कार्यकर्तालाई आग्रह गर्दै मतदाता नामाबली र परिचयपत्र बनाउन पनि सबैलाई आग्रह गरेको छ । बैठकले वडादेखि केन्द्र सम्म सम्पन्न भएका अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई बधाइसमेत दिएको छ । पत्रकार सम्मेलन पार्टी सचिव हरिहर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    त्यस्तै महाधिवेसनबाट जिल्ला सभापतिमा दोश्रो भएका जगदिशचन्द्र उपाध्यायले निर्वाचित सबै पदाधिकारी, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि समेतलाई जलपान कार्यक्रम आयोजना गरेका छन् । बैठक पछि सबै पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरु उपाध्यायले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।

    उक्त अवसरमा सभापति शेरचनले पार्टीलाई पहिलो शक्ति बनाउने अभियानमा चालक भएर गाडी हाँक्ने बताए । ‘मैले गाडी हाँक्छु, तपाईंहरु इमान्दार भएर सहयोग गर्नुहोला,’ उनले भने, ‘कतै ब्रेक दवाएर दुर्घटना पार्ने काम नगरिदिनुहोला ।’ ब्रेक दबाउनेले पार्टीलाई मात्र नभइ आफ्नो पनि सुरक्षा गर्न नसक्ने भन्दै उनले पार्टीमा गुटउपगुट नरहने गरी काम गर्ने समेत प्रतिवद्धता जनाए ।

    सभापतिका प्रत्यासी उपाध्यायले ३९ वर्षे राजनीतिक जीवनमा सधैं क्रियाशील र इमान्दार भएर लागेको बताए । उनले अझैपनि कांग्रेसमै बसेर काम गर्ने र कार्यकर्ता माझमै रमाउने बताए । ‘दुईपटक सभापतिको प्रत्यासी भएर पहिलो चरणमा प्रथम भएँ, दोश्रो चरणमा हारें,’ उनले भने, ‘तर हारेको मानसिकता लिएर नभइ सबैले जित्ने गरी फेरि लाग्नेछु ।’

    उनले पार्टीकै कारण विदेश, जागिर र व्यापार छाडेर होमिएको समेत बताए । उनले आफ्नो टाउको र शरीरका सबै घाउ र खतहरु पार्टी आन्दोलनकै क्रममा भएकोले हारेर निष्कृय बन्न नसक्ने समेत प्रष्ट्याए । चियापान समारोहमा सबैलाई बधाइ दिएका उपाध्यायले सभापति शेरचनलाई भने दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend