काठमाडौं, ५ माघ – नेकपा (एमाले)को जिल्ला अधिवेशनबाट ६२ जिल्लामा नेतृत्व चयन भएको छ। विशेष जिल्ला २ र ६ वटै प्रदेश सम्पर्क कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।
गत २३ पुसमा एकैसाथ अधिवेशन उद्घाटन भएका जिल्लामध्ये ६२ जिल्ला नेतृत्व चयन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। अधिवेशन उद्घाटन भए पनि आन्तरिक विवादका कारण पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा नेतृत्व चयन हुन बाँकी छ।
यस्तै, मौसम र आन्तरिक विवादका कारण धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम (पूर्व), रोल्पा, हुम्ला र बझाङमा अधिवेशन हुन सकेको छैन। यी सबै जिल्लामा कोरोनाभाइरसको संक्रमण कम भएपछि अधिवेशन हुने भएको छ।
त्यस्तै, एमालेको गैरभौगोलिक जिल्ला विशेषमा पनि नेतृत्व चयन भएको छ। यससँगै ६ वटै प्रदेशमा सम्पर्क कमिटीमा पनि नेतृत्व चयन भएको छ।


