पोखरा, ६ माघ – कोरोनाभाइरस संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ। आज १२ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ जनाको स्वाब परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना पुष्टि भएको हो। यो अहिलेसम्मकै सबैभन्दा बढी हो।
बुधबार २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोनामा कोरोना देखिएको थियो। तीन दिनयता दैनिक नयाँ रेकर्ड बन्दै गएको छ।
आज संक्रमण थपिएकामध्ये २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ जनामा र ६ हजार ४९० जनाको एन्टिजन परीक्षण गर्दा २ हजार २८६ जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ।
त्यस्तै, बिहीबार ६४९ जना निको भएका छन्। निको हुनेको संख्या न्यून रहँदा सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ।