काठमाडौं, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने मनसायका साथ वैशाखमा संसदीय चुनावको प्रस्ताव आएको बताएका छन् । ओलीले आज (आईतवार) विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनःस्थापनालाई संविधानको जीतका रुपमा व्याख्या गर्ने नेताहरु आज कुनै नैतिकता, कुन तर्क र कुन आधारमा अर्ली इलेक्सनको कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नुपर्दैन ?’
ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार बनेपछि मुलुकमा सबैतिर समस्यैसमस्या मात्र भएको दाबी गरेका छन्। राज्यका तीनै अंगहरू कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाले काम गर्न नसकेको उल्लेख गर्दै ओलीले राष्ट्र नै असफल बन्ने जोखिम बढेको बताएका छन्।
‘राज्यका तीनवटै अङ्गहरू आज सङ्कटोन्मुख छन् र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको छ,’ ओलीको वक्तव्यमा भनिएको छ।
ओलीले वर्तमान सरकारले अर्थतन्त्रलाई धरासायी बनाएको, लिपुलेक-लिम्पियाधुरामा भारतले सडक बनाउँदासमेत चुप लागेर बसेको, एकतर्फी रूपमा सीमा अध्ययन समिति बनाएर चीनसँगको सम्बन्ध बिगारेको, विभिन्न मुलुकमा राजदूत नियुक्त नगरेको भन्दै आलोचना गरेका छन्।
हेर्नुहोस विज्ञप्तिको पूर्णपाठ:







