९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

    काठमाडौं, १७ मंसिर –चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै-कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।

    लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा/बेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका छन् । चीनका अनुसन्धानकर्ताले पनि हालसालै यस्तै खाले एक अनुसन्धान गरेका छन् । चीनको तियानजिन मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनले कफी र चिया पिउँदा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने देखाएको छ ।

    अनुसन्धानकर्ताले १० देखि १४ वर्ष लगाएर उक्त अध्ययन गरेका हुन् । अध्ययनमा ३ लाख ६० हजार मानिसलाई सहभागी गराइएको थियो । अध्ययनअनुसार दैनिक चिया वा कफी सेवन गर्दा मस्तिष्कघात र डिमेन्सिया (स्मरण शक्ति र तार्किक क्षमता कम हुने रोग) जोखिम कम हुन्छ ।

    दिनमा कम्तिमा २ देखि ३ कप कफी, ३ देखि ५ कप चिया वा चिया र कपी दुवै गरी ४ देखि  ६ कप पिउने मानिसमा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने अनुसन्धानकर्ताले बताएका छन् ।

    ‘हाम्रो निष्कर्षले ठिक्क मात्रामा कफी र चिया दुवै वा कुनै एक मात्रै सेवन गर्दा मस्तिष्कघात र डिमेन्सियाको जोखिम घट्ने देखाउँछ,’ अध्ययनमा संलग्न लेखकले बताए ।

    चिया वा कफी मात्रै पिउँदा दुवै जोखिम कम हुन्छन् । तर दैनिक २ देखि ३ कप कफी वा चिया सेवन गर्दा सबैभन्दा प्रभावकारी हुने अध्ययनको ठहर छ । अध्ययनअनुसार दैनिक ३ कप कफी वा चिया पिउने मानिसमा डिमेन्सियाको जोखिम नपिउने मानिसमा भन्‍दा २८ प्रतिशत कम र मस्तिष्कघातको जोखिम ३२ प्रतिशतले कम हुन्छ ।

    सन् २००६ देखि २०२० सम्मको अवधिमा बेलायतको यूके बायोबैंक नामक संस्थाद्‍वारा संकलित झण्डै ५ लाखले आफूखुशी दिएको विवरणका आधारमा उक्त अध्ययन गरिएको थियो । यस क्रममा कफी वा चिया सेवनबारे बताएका ५० देखि ७४ वर्षका मानिसको स्वास्थ्य अवस्था हेरिएको थियो ।

    यसअघि गरिएका अनुसन्धानले समेत मस्तिष्कको स्वास्थ्यका लागि कफी फाइदाजनक हुने देखाउँछ ।

    यसै वर्ष यूके बायोबैंकको तथ्याङ्कका आधारमा गरिएको एक अध्ययनले दैनिक बढीमा ३ कप कफी पिउँदा मुटुसम्बन्धी रोग, मस्तिष्कघात र असामयिक मृत्युको जोखिम कम हुने देखाउँछ । त्यस्तै, दैनिक ३ कप कफी सेवन गर्दा अल्जाइमरको जोखिम समेत कम हुन्छ ।

    तर अत्यधिक कफी सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । जुनमा न्युट्रिसनल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार दैनिक ६ कपभन्दा बढी कफी पिउने मानिसमा डिमेन्सियाको जोखिम बढ्छ र मस्तिष्कमा पनि हानि पुग्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend