८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
बाग्लुङ गलकोटमा जन्मिएका विश्वकर्मा स्कुल पढ्दै गर्दा राजनीतिमा जोडिन पुगेका थिए ।

२७ वर्षपछि जनमोर्चा राष्ट्रिय सभामा निर्वाचित


जनमञ्च संवाददाता
  • १२ माघ २०७८ , बुधबार

  • २७ वर्षपछि जनमोर्चा राष्ट्रिय सभामा निर्वाचित

    संसदीय व्यवस्थामा भाग लिएको २७ वर्षपछि राष्ट्रिय जनमोर्चाले पहिलो पटक माथिल्लो सदन राष्ट्रिय सभामा आफ्नो सांसद निर्वाचित गर्ने अवसर पाएको छ ।

    २०५१ सालको मध्यावधी निर्वाचनदेखि निरन्तर चुनावमा भाग लिँदैआएको राजमोका तुलबहादुर विश्वकर्मा पहिलो पटक राष्ट्रिय सभामा सांसद निर्वाचित भएका हुन् । विश्वकर्मा लुम्बिनी प्रदेशको दलिततर्फको कोटामा सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।

    रुपन्देहीका विश्वकर्माले एमाले उम्मेदवार गुल्मीका कृष्ण सुनारलाई पराजित गरेका हुन् । विश्वकर्माले ४ हजार ३५६ मत प्राप्त गरे । त्यस्तै सुनारले ३ हजार ३४८ मत ल्याइन् ।

    विश्वकर्मासँगै लुम्बिनीबाट खुलामा बाँकेका युवराज शर्मा र महिलातर्फ राज्यलक्ष्मी गैरे निर्वाचित भएका छन् । शर्मा कांग्रेस र शर्मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । उनीहरूले नेकपा एमालेका उम्मेदवार क्रमश: रामदयाल गुप्ता र भारती खनाल उपाध्यायलाई पराजित गरेका थिए ।

    राजेश विकको नामले चिनिने विश्वकर्मा राजमोको भ्रातृ संगठन जातीय समता समाजका केन्द्रीय अध्यक्षसमेत हुन् । २०४५ सालमा विश्वकर्माको संयोजकत्वमा समाज गठन गरिएको थियो । त्यसयता ६ वर्ष बाहेक विश्वकर्मा नै समाजको प्रमुख रहँदै आएका छन् ।

    २०१५ सालमा बाग्लुङ गलकोटमा जन्मिएका विश्वकर्मा स्कुल पढ्दै गर्दा राजनीतिमा जोडिन पुगेका थिए । २०२७ सालमा उनी स्कुलका तत्कालीन हेडमास्टर चित्रबहादुर केसी र शिक्षक झलनाथ खनालको सम्पर्कपछि राजनीतिमा आएका थिए ।

    ४६ वर्षदेखि राजनीतिमा संलग्न रहेका विश्वकर्मा ५ वर्ष शिक्षक भएर काम गरेका थिए । स्नातकसम्मको अध्ययन गरेका विश्वकर्मा नेपालमा पटक पटक गरी २०४६ सालको आन्दोलनको क्रममा भारतमा पक्राउ गरेका थिए ।

    उनलाई नयाँदिल्लीस्थित ३ महिनासम्म तिहाड जेल राखिएको थियो । नेपालमा बाहेक उनले भारतमा समेत राजनीतिक गतिविधि गरेका थिए । प्रवासी नेपाल एकता मञ्चअन्तर्गत आन्ध्र प्रदेश, कर्नाटक र केरला कमिटीमध्ये उनी तत्कालीन केरलाबाट प्रतिनिधित्व गर्थे ।

    उनी रक्तिम सांस्कृतिक अभियानका संस्थापकमध्येका एक हुन् । जसमा जीवन शर्मा र मणि थापा लगायत गायक तथा संस्कृतिकर्मीहरू सदस्य थिए ।

    बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि भएको पहिलो आमनिर्वाचन बहिस्कार गरेको नेकपा मसालले त्यसपछि भने संसदीय व्यवस्थालाई उपयोग गर्ने नीति लिँदै आएको छ ।

    २०५१, २०५६, २०७४ सालको संसदीय चुनाव, २०६४ र २०७० संविधानसभा चुनावमा खुला मोर्चाको रुपमा राजमोमार्फत् प्रतिस्पर्धामा सहभागी हुने गर्छ ।

    राजमोको संघीय प्रतिनिधिसभा मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेश सभामा समेत प्रतिनिधित्व रहेको छ । कांग्रेस नेतृत्वमा रहेको ५ दलीय गठबन्धनमा सहभागी रहेको राजमो शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने सामेल भएको छैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend