९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

राम्रो खानदानका खराब श्रीमान् !


गितु गैरे
  • १५ माघ २०७८ , शनिबार

  • राम्रो खानदानका खराब श्रीमान् !

    मंसिरको महिना। भर्खर-भर्खर प्रेममा फसेका प्रेमील मनको आत्मियता बढेजस्तै बढ्दो क्रममा थियो जाडो पनि। यसै पनि जाडोमा त्यो न्यानो शिरक छोडिहाल्न मन मानिहाल्दैन, त्यसमा पनि शनिबार।

    स्कुलका दिनदेखि नै एक किसिमको बानी बनेर होला, शनिबारको दिन काम गर्ने जाँगर निकाल्न अलिक हम्मेहम्मे हुन्थ्यो मलाई‌। उसो त जागिर पनि यस्तै थियो न शनिबार भन्न पाइने न दिनरात भन्न पाइने। लामो समयपछिको शनिबार मस्त सुत्न पाएकोमा मख्ख थिएँ। कुनै विशेष योजना तर्जुमा गर्नु थिएन।

    म आज हतार नगरी उठेँ बिना जाँगर। उठ्दा न‌उठ्दै मनु दिदीको फोन आयो- ‘खाली छौ ?’

    ‘हजुर, छु।’

    ‘त्यसो भ‌ए यतै आऊ न त, धेरै भयो भेटघाट नभ‌एको पनि। सँगै बसेर भलाकुसारी गरूँला।’

    मैले हुन्छ भन्न नपाउँदै फोन काटिन्। सायदै उनको बोली खेर जान दिन्न भन्ने बुझेकी थिइन्। तयार हुँदै गर्दा मेरो दिमागमा मनु दिदीकै कुराहरू चलिरहेको थियो।

    लत्ता-कपडा र किताबको झोला लतार्दै म बानेश्ववरको न्यू गर्ल्स होस्टेलको माथिल्लो तल्लामा पुगेकी थिएँ। ठिक त्यहीबेला उनी श्रृंगारिन व्यस्त थिइन्। श्रृंगार थप्दै मुस्कुराएकी थिइन्, टेबल माथिको ठूलो ऐना हेरेर। उनी बाहिर निस्कन लागेकी हुँदी हुन्। ‘ए! तिमी नै हौ? मलाई हतार भैसक्यो, निस्केँ ल’ भन्दै उनी हस्याङफस्याङ गर्दै कोठाबाट बाहिरिहेकी थिइन्।

    करिब तीन वर्षअगाडि मेरो मनु दिदीसँग यसरी भेट भ‌एको थियो, सँगसँगै काठमाडौँको‌ बसाइ सुरू भ‌एको थियो। झट्ट हेरेर यस्तो होला, उस्तो होलाको अनुमान गर्न मैले त्यही दिनबाट छोडिदिएकी थिएँ जुन दिन मैले मान्छेको दुई/तीन वटा जिब्रो मात्र होइन, स्वरुप पनि हुन्छ भन्ने थाहा पाएकी थिएँ। देखिँदाको ऊ, अनि साँच्चीकैको ऊ। साच्चै अनेक रुपमा आफ्नै अस्तित्व बुझेको हुन्छ कि हुँदैन होला? मान्छेले आफूलाई खोज्दा आफूभित्र पाउला कि कतै हराउला?

    हाम्रो व्यस्तता व्याप्त थियो, जाडो होस् या गर्मी हाम्रो दैनिकीमा कुनै परिवर्तन थिएन। बिहानी प्रहरमा निस्कने हामी झम्मक साँझ परेपछि थकित र आशा मिश्रित मुहारको आभा बोकेर आउथ्यौँ अनि पलङमाथि लम्पसार पर्ने गर्थ्यौं। हामी थाकेका भ‌ए पनि, निराश थिएनौँ। त्यो समयलाई सम्झिँदा मात्रै पनि गर्वले छाती चौडा हुन्छ। त्यतिविधि आकांक्षा हामीमा कहाँबाट भरिएका होलान्? यस्तै व्यस्तताले गर्दा हामीबीच कुनै व्यक्तिगत संवाद हुन पाएको थिएन।

    मसँग मेकअप, ड्रेस‌अप सेन्स खासै थिएन र मलाई आवश्यक पनि लाग्दैन थियो। मनु दिदी यसै पनि रुपवान थिइन्। चिटिक्क परेर हिँड्न जानेकी मनु दिदीको सुन्दरताले जो-कोहीलाई लोभ्याउथ्यो। यी केही असमानता बाहेकका समानताले हामी केही समयमै घनिष्ट भ‌एका थियौँ। मनु दिदी कहिले साथीजस्तै जिस्कन्थिन्, कहिले दिदीले जस्तो सम्झाउथिन् धेरैजसा शनिबारीय फुर्सद र बसाइमा।

    मैले एकदिन अनायसै बगेका आँसुका धारा पुस्दै हिक्क-हिक्क गर्दै भनेकी थिएँ, प्रिजेन्टेबल भइनँ भनेर नयाँ/पुराना सबै टेलिभिजन हाउसबाट रिजेक्ट भ‌एको कुरा। उनी खुब मज्जाले हाँसेकी थिइन्, मेरो रुवाइमा। अनि भनेकी थिइन् ती मिलेका काला आँखीभौ माथिपट्टी सार्दै- ‘कति किताबी किरो बनेर बस्छ्यौ? कहिलेकाहीँ मतिर पनि नजर डुलाऊ, सिकिहाल्छौ नि प्रिजेन्टेबल हुन।’

    केही दिनको दिदीको परामर्शपछि ऐनामा आफैलाई हेर्दा लजाएकी थिएँ अनि मुहारको छनक देखेर छक्क परेकी थिएँ। अनि पो हो मैले केही समयमै नाम चलेको मिडिया हाउसमा काम पाएकी।

    अर्को शनिबार जाडोको न्यानो, प्यारो घाम ताप्दै सुन्तला र बदामको स्वादको मज्जा लुट्दै फेसबुक स्क्रोल गर्दै बसेका थियौँ। फेसबुक नै रंगिचंगी भ‌एर सजि‌एको थियो मेरा साथीहरूको बेहुली भेषले। कति सुन्दर र सन्तुष्ट देखिएका! सायदै खुसीले होला उनीहरूको सुन्दरतामा रौनक थपिएको।

    स्कुल होस् या कलेजमा गफका विषय यिनै बिहे मिति, सपनाको राजकुमारको बारेमा हुन्थ्यो। कल्पनामै हराएर रोमान्चकताको उच्चतम बिन्दुमा पुग्ने गर्दथे साथीहरू। म यी र यस्ता विषयमा चासो नै नराख्ने भ‌एकोले पनि कसैसँग नजिकिन सकिनँ। जसको जीवनको एक मात्र लक्ष्य भनेकै विवाह गर्नु थियो उनीहरू मेरा सपनामयी आँखामा अटाएनन्। म त एक यात्री थिएँ, कुनै चौतारीमा भारी बिसाइरहन सक्दिन थिएँ।

    हाम्रा विचारका दुई विपरीत ध्रुवले हामीलाई विकर्षित मात्रै गरे। त्यसैले होला मलाई बिहेमा पनि कसैले निमन्त्रणा गरेनन्। प्रसंगवश उत्साहित हुँदै मैले मनु दिदीलाई सोधेकी थिएँ, ‘कहिले गर्ने नि दिदीले बिहे?’

    बिहेको प्रसंग सुन्नेबित्तिकै दिदीको अनुहारको भाव फेरिएको थियो। मलाई बिहे गर्ने कुनै आकांक्षा छैन भन्दै दिदीले आफ्नो कहानी यसरी सुनाएकी थिइन्-

    ‘जीवनको दौडमा हामी सबैको गति र पुग्ने बिन्दु र गन्तव्य फरक हुने रहेछ। जीवनमा मैले पढेरभन्दा परेरै धेरै कुरा सिकेँ, बुझेँ। जति-जति अस्वभाविक परिस्थिति थपिन्छ जीवनमा, उति-उति बलियो बनिने रैछ। पढेलेखेको, सुविधा सम्पन्न परिवारमा जन्मे हुर्के पनि म जसोतसो पास हुन्थेँ। बच्चैदेखि नै पढ्न भनेपछि फिटिक्कै मन लाग्दैन थियो। पढ्नेबाहेक अरु सबैजसो काम गर्न जाँगर चल्यो। तर पढाइमा जति कोसिस गरे पनि रमाउन सकिनँ।

    समाजले सिर्जना गरिदिएको पढ्नै पर्ने दबाब मलाई कुनै पनि हालतमा स्वीकार्य थिएन। सानैदेखि आमाले के गरेर खान्छेस्, यत्ति सुविधामा रहेर पनि पढ्न सकिनस्, दुःख पाउछेस् भन्दै कहिले आफै रोइदिएर, कहिले गाली गरेर मलाई पढ्नै पर्ने दबाब दिइरहनु हुन्थ्यो। म पनि भनिदिन्थेँ ‘एक्लो ज्यान घाँसै काटेर पनि पालिन्छ।’ तर अफसोस! केही जग्गाजमिन थियो, खेती पनि लगाउथ्यौँ, एउटा माली गाई पनि थियो घरमा। तर मलाई पढ्ने बाहेक अन्य कामको अनुमति थिएन।

    चितवनको गीतानगरमा घर भैकन पनि म नारायणगढ सहरकीजस्तै थिएँ। बाबा स्कुलको प्रिन्सिपल, आमा टिचर, म चाहिँ नपढ्ने। यो अस्वाभाविक त्रिकोणात्मक सम्बन्धले उहाँहरू आफ्नो प्रतिष्ठामा थोरबहुत कमी भ‌एको महसुस गर्नुहुन्थ्यो, विशेषगरी रिजल्टको बेलातिर। जसोतसो मैले १२ कटाएँ। मेरो र बाबाआमाको इच्छाको तालमेल कसैगरी पनि मिलेन।

    मेरो चाहनाभन्दा उहाँहरूको मान, इज्जत वा प्रतिष्ठाले स्थान पायो। म भित्रबाटै टुटेकी थिएँ। मलाई सुन्ने बुझ्ने कोही थिएन। भाइ पनि सानै थियो, छ वर्षको फरक। जेठो सन्तान भ‌एर झन् जिम्मेवारी र अनेक कुरा सुनाउँदै जबरजस्ती बिबिए पढ्न लगाउनुभयो। सक्दो त गरेकै थिएँ, त्योभन्दा विरोध र विपरीत गर्ने हिम्मत ममा थिएन।

    अब उहाँहरूकै लागि पढ्दिन थालेँ। बढ्दै गरेको उमेर र समयले मलाई आफ्नो स्व-अस्तित्वको बोध गरायो। म साँच्चै के हुन चाहान्छु? के गर्दा म खुसी-खुसी गर्न सक्छु? आफैलाई बुझ्दै जाँदा मैले थाहा पाएकी थिएँ। मलाई डिजाइनिङ मनपर्ने रैछ। बाहिर निस्कँदा पनि कसैले फरक खालको पहिरन गरेको छ भने म एकटकले हेर्ने गर्दथेँ। त्यो साहस कहाँबाट आउथ्यो त थाहा छैन तर मलाई आफूले पनि गर्न सक्छु भन्ने विश्वास भने थियो।

    कहाँको पढाइबाहेक केही नदेख्ने मेरो परिवार कहाँको फेसन डिजाइनिङ! मेरो हजार कोसिस फेल खाए। मैले सकिनँ मनाउन। अन्तत्वोगत्ता म बाबाआमालाई नै खुसी बनाउन सफल भ‌ए‌। म आफैसँग हारेकी थिएँ। आमाबाबालाई खुसी देख्दा पहिलो पटक दुःखी भ‌एकी थिएँ।

    मेरो अन्तिम वर्षको पढाई सकिएको थियो। जसोतसो पास गरेकी हैन, गरिदिएकी थिएँ। तर पढेर केही गर्न सक्छु भन्ने आँट पटक्कै थिएन। एकदिन आमा कोठामा आएर ‘राम्रो खानदानबाट बिहेको कुरा आएको छ। हामीले बुझ्दा ठिक लाग्यो, तँ के भन्छेस्?’ भन्दै अब बेला पनि भयो मनु भन्दै अनेक कुरा सुनाउनुभयो।

    म चुपचाप बसेँ तर आखिर केको लागि नाईनास्ती गरूँ? न कोही प्रेमी, न पूरा गर्नुपर्ने विशेष सपना। बरू बिहे गरेपछि पो आफूले चाहेकोजस्तो गर्न पाइन्छ कि भन्ने झिनो आशामा मैले स्वीकृति दिएँ। अहिलेको जमानामा भ‌ए पनि हाम्रो बोलचाल सामान्य रह्यो र केही समयमा बिहे भयो।

    घर यहीँ घट्टेकुलोमा थियो। ठूलो ब‌ङगला! ठूलो त ठूलो, साह्रै ठूलो खानदानका रैछन्। को घरका मान्छे को नोकरचाकर चिन्न पनि केही समय लागेको थियो। सम्पूर्ण वैवाहिक कार्यक्रम सकिन केही दिन लाग्यो। बिहेलगत्तै साथीभाइ भेट्न जान्छु भनेर ग‌एका श्रीमान फर्केर आएनन्। फोन पनि लागेन। भोलिपल्ट बिहानै बुबाहजुरले अर्जेन्ट मिटिङ परेर अमेरिका जानु पर्यो। केही दिन लाग्ने कुरा बताउनुभयो।

    मसँग भने सम्पर्कविहीन थिए। ठिकै छ, आफ्नै मिटिङ र समस्या होलान् भनेर मौन बसेँ। १३ दिनपछि उनी घरमा त आए तर नसाको लतमा लठ्ठिएर। म त छाँगाबाट खसेसरह भ‌एकी थिएँ। नसामा लठ्ठ परेर झुमिएको एउटा पुरूषलाई म श्रीमानको रुपमा अंगाल्दैछु। न रून आँसु आयो, न केही बोल्न बोली फुट्यो। म स्थिर थिएँ, कुनै निर्जीव वस्तुसरह।

    आफैले फेरिरहेको सास पनि आफ्नो लागेन। त्यो घर, श्रीमान् र म आफै पनि आफ्नो लागेन। निकै बेरमा अनायासै आँसु बगे, तर डाँको छोडेर रोइनँ। बिहेको पर्सिपल्टदेखि हराएको श्रीमानलाई १३ दिनपछि यसरी देखेकी छु, विश्वास गर्न सकिरहेको थिइनँ। रूँदारुँदै कतिबेला निदाएँ थाहै पाइनँ।

    हाँस्दा त सारा संसारलाई देखाएर हाँस्न मन लाग्ने, यी हेर मेरा खुसी भनेर विजय मनाउन मन हुने तर आँसुलाई त्यसो गर्ने साहस नहुँदो रैछ। कसैले नदेखुन् भनेर एक्लै र एकान्त कुनो खोज्ने रहेछ। भोलिपल्ट बुबा हजुर निस्कनभन्दा पहिले उहाँलाई भेट्न तल्लो तल्ला झरेँ। रातीको १० बजिसकेको थियो, उनी यस्तो अवस्थामा आएको अरूलाई थाहा थिएन। निडर भ‌एरै म सबै नालीबेली सोधेँ।

    खै! कुन तत्वले मलाई बलियो बनाएको थियो मलाई आजसम्म पनि थाहा छैन। सायद भगवानले हामी सबैलाई एउटा आँट दिएका हुने रैछन् क्यारे। नपर्दासम्म कसरी सहन सकुँला र जस्तो लाग्ने तर परेपछि त आफ्नै शरीरभरि असीमित शक्ति सञ्चार हुने रहेछ। बुबाले शीर झुकाउँदै यसरी आफ्नो कुरा सुनाउन लाग्नुभयो-

    ‘म मेरो संघर्षको क्रममै थिएँ। त्यहीबेला जन्मियो विधान। सानैदेखि आमाको काख मात्रै पाएको हुनाले ऊ आमासँग धेरै नै नजिक थियो। चाहेर पनि म उससँग धेरै खेल्न पाइनँ, समय बिताउन सकिनँ। साथै भ‌एर पनि निकै टाढाको एक पात्र मात्र हुन पुगेँ म उसको जीवनमा। आमाकै वात्सल्यमा हुर्कंदै, बढ्दै गयो। आमा नै‌ उसको संसार थिई। सानैदेखि मेरो काखमा आयो कि रोइहाल्थ्यो। म उसैको निम्ति त यति मेहनत गरिरहेको छु, एकदिन कसो नबुझ्ला र भनेर म आफ्नै कामलाई महत्त्व दिन थालेँ।

    तर समय सधैँ एकनास रहेन। एउटा अप्रत्याशित घटनाले हामी सबैको जीवनको मोड बदलियो। विधानकी आमा दुर्घटनामा परेर हाम्रो चटक्कै माया मारेर पर पुगिन्। कहिल्यै नभेटिने ठाउँमा, कहिल्यै नमेटिने चोट दिएर‌। यति बेला विधान १४ वर्षको थियो। सानैदेखि आत्मियता नभ‌एको कार‌णले गर्दा म पनि उति घुलमिल हुन सकिनँ।

    ऊ त्यसै पनि कम बोल्ने गर्दथ्यो। झन् मसँग त बोल्दैनथ्यो। आमा बितेको एक वर्षपछि ऊ १० कक्षा पुग्यो र होस्टेल बस्न थाल्यो। ठिक त्यही समयमा मेरो बिजनेसले पिकअप लिग्यो। मैले झन् समय दिन सकिनँ। ऊ दुर्व्यसनीमा फस्दै ग‌एछ। १२ कक्षासम्म ऊ होस्टेल नै बस्यो। मैले यी सब कुरा तीन वर्षपछि मात्र थाहा पाएँ, त्यतिबेला ढिलो भैसकेको थियो।

    यसको कारण मै आफू हुँ कि जस्तो लाग्छ। पटक-पटकको सुधारगृह पनि व्यर्थ ठहरियो। उसको महिलासँग विशेष झुकाव थियो। विवाहपछि सुध्रिन्छ कि भन्ने एउटा बलियो आशाले विवाह गरिदिएको हो। माफ गरिदेऊ मनु’ भन्दै ग्वाँ-ग्वाँ गरेर रुन थाल्नुभयो‌‌।

    आमुन्ने सामुन्ने भ‌एर हामी सोफामा बसेका थियौँ। दुवैका परेली भिजेका छन्, बोल्नको लागि शब्द छैन मसँग, शीर निहुँरिएकै थियो। खै के अपराध गरेकी रहेछु? मलाई त लाग्थ्यो कुनै पनि व्यक्ति बिग्रने वा बन्नेप्रति सबैभन्दा जिम्मेवार स्वयम आफै नै हुन्छ। परिवेश र परिवारको केही भूमिका त होला तर शत-प्रतिशत जिम्मेवार भने हुन सक्दैनन्।

    आफ्नो कमजोरी ढाकछोप गर्नको लागि होला, अरुलाई दोष दिएर उम्कने प्रवृत्ति त। म चुपचाप सोफाबाट उठेँ र बुइँगलतिर निस्केँ। सोध्न मन थियो कसैलाई मेरो जीवनमै किन यतिविघ्न घटना? तर कसलाई? भगवानलाई, बतासलाई, बाआमालाई या अरु कोही? मैले विवाह अघिको समय बाबाआमाकै लागि बिताइदिएकी थिएँ र अबको समय उसको लागि बिताउन म कुनै हालतमा पनि तयार थिइनँ। न ऊप्रति प्रेम थियो न सुर्धार्छु, कुरेरै बस्छु भन्ने मनासाय।

    म अब आफ्नो लागि बाच्न चाहन्थेँ, आफ्नो अस्तित्व खोज्न चाहन्थेँ र त अरूको लागि कठोर लाग्ने निर्णय मैले सहजै लिएकी थिएँ। यसरी बिहे गरेको २१ दिनमा विधानसँग मेरो सम्बन्ध विच्छेद भयो र म आजाद पंक्षीजस्तै स्वतन्त्र भ‌एँ। पैसा र परिवार देखेर सायद बाबाले पनि धेरै बुझ्नुभ‌एन होला। मलाई कोहीसँग गुनासो रहेन। कसैले केही प्रश्न गरेनन्। सम्झाउने कोसिस गरेनन्। फेरि चितवन फर्किएर दुनियाँको विचरा हुनु थिएन। त्यसैले म यता आएँ र पहिलो पटक तिमीजस्तो साथी भेट्टाए‌ँ।’

    यति लामो कथा मनु दिदीले नबिसाइकन सकिन् एकैपटकमा अनि बल्ल लामो सास तानेकी थिइन्‌‌। म चुपचाप थिएँ, एकटकले उनलाई हेरिरहेकी थिएँ। उनको ती सपनामय मृगनयनी नयनले अझै आकर्षित भ‌एकी थिएँ। उनको आँखामा एक चिम्टी पनि पश्चताप वा दुःखभाव बाँकी थिएन। दिदीले मलाई भनेकी थिइन् त्यतिबेलै, ‘दुई वर्ष फेसन डिजाइनिङ सिक्छु अनि केही रकम छ, त्यसबाटै बिजनेस सुरु गर्छु।’

    उनैले भनेजस्तै अहिले दिदीको बिजनेस निकै राम्रो चलिरहेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै चर्चा चुलिरहेको छ। उनले एक वर्षमै आफूलाई स्थापित गरिसकेकी छन्। रातीसम्म काम परिरहने भ‌एकोले केही पहिले होस्टेल छोडेर आफ्नो बुटिक तिरै सरेकी थिइन्।

    मनु दिदीलाई सम्झिँदा सम्झिँदै आँखा रसाए मेरा। कोही मान्छे किन यति आत्मिय हुन्छन् होला? खास आफ्ना, विशेष आफ्ना। यो भावनात्मक सम्बन्धहरू त स्थापित हुन पनि धेरै समय लाग्दैन। कुनै सम्बन्ध क्षणभरमै सकिन्छन्, कुनै अन्नतसम्म बाच्ने रहेछन्। म मनु दिदीलाई भेट्न उनले पहिलो पटक मेरो लागि डिजाइन गरेको ड्रेस लगाएर निस्केँ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend