बागलुङ, १७ माघ – राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जना युवाहरुले रक्तदान गरेका छन् । नागरिकले स्वस्थ जीवन जिउन पाउने अधिकारलाई रक्षा गर्ने भन्दै कोभिड-१९ का कारण उत्पन्न रगत अभाव पूर्तिका लागि युवा संघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गण आयोजना गरीएको रक्तदान कार्यक्रममा युवाहरुले उत्साहजनक सहभागिता जनाएका थिए । ‘रक्तदान नै जीवन दान हो’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङका संयोजक बुद्ध बोहोराले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश कमिटी सहइन्चार्ज मनकुमारी केसीले एमालेको मुख्य जनवर्गीय संगठनका रुपमा रहेको राष्ट्रिय युवा संघ नेपालका युवाहरुले गरेको परोपकारी कामले आफुलाई गौरव लागेको बताइन् ।
नेकपा एमाले जिल्ला कमिटि बागलुङका अध्यक्ष हिरा बहादुर केसीले युवाहरुले सामाजिक कार्यमा देखाएको सक्रियता र रचनात्मक कार्यमा नेकपा एमाले जिल्ला कमिटिले सदैव आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पार्टीका नेता कार्यकर्ता लगायत विद्मार्थीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रेशम घर्ति मगरले गरेका थिए ।