११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

आजबाट बेइजिङमा विन्टर ओलम्पिक, किन छैनन् नेपाली खेलाडी ?


जनमञ्च संवाददाता
  • २१ माघ २०७८ , शुक्रबार

  • आजबाट बेइजिङमा विन्टर ओलम्पिक, किन छैनन् नेपाली खेलाडी ?

    चीनको राजधानी बेइजिङमा आजबाट २४औं संस्करणको विन्टर ओलम्पिकको उद्‌‌घाटन हुँदैछ। उद्‌घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङसहित विश्वका २१ मुलुकका नेताहरू सहभागी हुँदैछन्।

    यो ओलम्पिक्समा विश्वभरका ९१ देशका खेलाडीले सहभागिता जनाउँदैछन्।

    चीनको बेइजिङ र हुबेईमा हुने ओलम्पिकमा नेपालको सहभागिता छैन। किनभने यस संस्करणको ओलम्पिकमा प्रतिस्पर्धा हुने विधाका लागि योग्य खेलाडी नेपालमा छैनन्।

    स्की खेलाडी सफलराम श्रेष्ठले यसपटकको विन्टर ओलम्पिकमा सहभागिता जनाउने कोसिस गरे पनि सफल हुन सकेनन्। सफलरामको ओलम्पिक खेल्नका लागि न्यूनतम अंक पुग्न सकेन।

    यद्यपी सफलरामलाई नेपाल ओलम्पिक कमिटीले विन्टर ओलम्पिकको तयारीका लागि भन्दै इटालीका लागि विदाई गरेको थियो। इटालीमा उनले एफआईएस च्याम्पियनसिपमा भाग लिएका थिए।

    सफलराम नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठका छोरा हुन्। सन् २०१० देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेका सफलरामले विन्टर युथ ओलम्पिक खेलेका छन्।

    खेलाडी दर्ता नभएपछि नेपालका कोही पनि पदाधिकारी सहभागी हुन चीन जान पाएनन्। त्यसैले यसपटकको विन्टर ओलम्पिक्समा नेपालको सहभागिता शून्य भएको छ।

    यसपटकको विन्टर ओलम्पिक्समा बायाथल, बब्स्लेडिङ, कर्लिङ, आइस हकी, लूस, स्केटिङ र स्की गरी सात विधामा प्रतिस्पर्धा हुन्छ।

    नेपालमा आइस हकी र स्कीको राष्ट्रिय खेल संघ  छन्। तर यी खेल खेल्ने खेलाडी नगन्य छन्।

    राष्ट्रिय खेलकुद परिषद्‌मा दर्ता भए पनि नियमित राष्ट्रिय खेलकुद आयोजना गर्दैनन्। खेलाडी उत्पादनका कुनै कार्यक्रम ल्याउँदैनन्। जसले गर्दा नेपालमा विन्टर ‌ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सक्ने खेलाडी उत्पादन हुन सकेको छैन।

    सन् २०१८ मा दक्षिण कोरियामा आयोजना भएको गत संस्करणको विन्टर ओलम्पिकमा पनि योग्य खेलाडी नहुँदा नेपालले सहभागिता जनाएको थिएन।

    त्यसअघि भने नेपालले लगातार चार पटक विन्टर ओलम्पिकमा सहभागिता जनाएको थियो।

    सन् २००६ को टुरिन विन्टर ओलम्पिक,  सन् २०१० को भ्यानक्युवर विन्टर ओलम्पिक र २०१४ को सोची विन्टर ओलम्पिकमा दाछिरि शेर्पाले स्कीमा प्रतिस्पर्धा गरेका थिए। उनी नेपालबाट लगातार तीन पटक विन्टर ओलम्पिक खेल्ने पहिलो खेलाडी बनेका थिए।

    पहिलो विन्टर ‌ओलम्पिक खेल्दा ३६ वर्षका शेर्पाले पछिल्लो पटक ४४ वर्षको उमेरमा विन्टर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। शेर्पाले ३३ वर्षको उमेरमा स्की सिकेका थिए।

    नेपालले सन् २००२ को विन्टर ‌ओलम्पिकदेखि प्रतिस्पर्धा गर्न थालेको हो। ‍२००२ मा अमेरिकाको साल्ट लेक सिटी विन्टर ‌ओलम्पिकमा नेपालका जयराम खड्काले प्रतिस्पर्धा गरेका थिए। उनी विन्टर ओलम्पिक खेल्ने नेपालका पहिलो खेलाडी हुन्।

    ब्रिटेनका धनाढ्य रिचार्ड मुर्लीको सहयोगमा उनी ओलम्पिकमा सहभागी भएका थिए। रिचार्डले सानै उमेरमा खड्कालाई ब्रिटेन लगेका थिए। खड्का उतैबाट ओलम्पिक खेल्न अमेरिका पुगेका थिए।

    चार पटक विन्टर ओलम्पिकको प्रतिस्पर्धामा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक थियो।

    तर नेपालले विन्टर ‌ओलम्पिकमा पदक प्राप्त गरेको इतिहास छ।

    तेजवीर बुरा (बुढा) ले सन् १९२४ को विन्टर ओलम्पिकमा पदक पाएका थिए।

    सन् १९२२ को सगरमाथा आरोहण दलमा समावेश तेजवीरलाई सम्मानस्वरूप ओलम्पिक पदक प्रदान गरिएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend