बागलुङ, २३ माघ – नेकपा एमाले बागलुङले निर्वाचन र संघर्ष दुवैका लागि कार्यकतालाई तयार राख्ने निर्णय गरेको छ । नवनिर्वाचित जिल्ला कमिटिको पश्चिम बागलुङको बुर्तिबाङमा सम्पन्न पहिलो बैठकले संबिधान अनुसार हुने आवधिक निर्वाचनको तयारीमा लाग्ने र संबिधानविपरित हुने सबैखाले क्रियाकलापविरुद्ध संघर्ष गर्न सबै कार्यकर्ता तयार रहने निर्णय गरेको हो ।
निर्वाचनमा एमालेलाई बागलुङमा पहिलो पार्टी बनाउने गरि अभियानको सुरुवात गर्ने निर्णय भएको हो । निर्वाचनको वातावरण बनाउनका लागि पालिका, वडा तथा टोल कमिटिहरुलाई सक्रिय बनाउने एमालेले जनाएको छ ।
बैठकले सबै बिभागहरु गठन गरेको छ । अध्यक्ष हिराबहादुर केसीको नेतृत्वमा संगठन विभाग र सचिव बिष्णु भुसालको संयोजकत्मा आर्थिक विभाग गठन भएको छ । पार्टीका सबै जनसंगठनको इञ्चार्ज र केही जनसंगठनको सहइञ्चार्ज तोकिएको प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले जानकारी दिए । शर्माले पार्टीको पहिलो बैठकबाट प्रचार बिभागको जिम्मेबारी पाएका हुन् ।
हालसम्म अधिवेशन हुन नसकेको बरेङ गाउँपालिकामा माघ २९ गतेभित्र अधिबेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय जिल्ला कमिटिले गरेको छ । एमाले पालिका कमिटिको बैठक माघ २९ गते र वडा कमिटिको बैठक फागुन ४ गते बस्न पार्टीले निर्देशन दिएको छ ।
जनप्रतिनिधिहरुसँग अन्तरक्रिया, भएका कामको समिक्षा र प्रचार थाल्ने निर्णय भएको छ । बैठकको उद्घाटन सत्रलाई पाटीका उपमहासचिव तथा प्रचार बिभागका प्रमुख पृथ्वीसुव्वा गुरुङ, सचिव तथा गण्डकी इञ्चार्ज पद्मा अर्यालले सम्बोधन गरेका थिए ।