राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अनुसार भूमिहिन सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासी झण्डै दश गुणा बढी देखिएका छन् ।
बागलुङ, २८ माघ – जैमिनी नगरपालिका-८ छिस्तीका कृष्णबहादुर परियारको ५ बर्षअघि घर भत्केको थियो । लामो समयसम्म घर बनाउन नसकेपछि उनी छिमेकीको घरमा आश्रयमा थिए । पत्नीको निधन भएको, ३ छोरा हुर्काउन उनले मजदुरी गर्न बाध्य थिए । त्यसैले उनले घर बनाउने न समय पाए, न आर्थिक व्यवस्थापन गर्न सके ।
उनको लामो समयदेखिको दुःखमा नगरपालिका साथी बनेको छ । जैमिनी नगरपालिकाले उनको घर बनाइदिएको छ । उनी मात्र हैन जैमिनीले घरविहीनको घर, सुकुम्बासीलाई जग्गा दिने अभियान चलायो । सुकुम्बासी पहिचान हुनका लागि भने ३ पुस्तादेखि जग्गा जमिन नभएको प्रावधान राखिएको छ । साथै, उनीहरुको घरजग्गा केही नभएको भन्ने वडाले सिफरिससमेत गरिदिनुपर्छ ।
यो अभियानमा नगरपालिकाले १ सय ५ जना घरबिहिन भेटाएको थियो । उनीहरुमध्ये अधिकांशले घर बनाउने क्रममा रहेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । ‘नगरपालिका अभिभावक हो भनेर उनीहरुको घर बनाउने र व्यवस्थापनमा साथ दिएका हौं’, पौडेलले भने, ‘नगरपालिकले पनि प्रशासकीय भवन बनाउँदैछ, हाम्रो घर बन्दा नगरमा कोही घरविहीन हुन नपरोस् ।’
सुकुम्बासीतर्फ भने २२ जना मात्रै भेटिएको सामाजिक विकास शाखा प्रमुख देवी बिकले बताइन् । ‘घरै नभएकालई २ लाख दिएर घर बनाउन लगाएका छौं’, बिकले भनिन्,‘काम गरेकालाई भुक्तानी पनि दियौं ।’ केहीले भने सम्झौता गरेर घर बनाउने तयारी गरेका छन् ।
कुश्मीसेरा बजारमा चुरापोते बेचेर जीवन चलाएकी एक मुस्लिम महिलाले पनि घर ठड्याएकी छिन् । मजदुरी गरेरै छोराछोरी पालेकी ती महिलालाई नगरपालिकाले घर बनाइदिएको हो । नगरपालिकाले खरका छाना बिस्थापित गर्ने योजनामा पनि काम गरिरहेको छ । नगरभरि भेटिएका ८ सय ६८ खरका छानामध्ये अहिलेसम्म ४ सय ३४ छाना फेरिएको बिकले जानकारी दिइन् । प्राविधिक मूल्यांकनका आधारमा नगरपालिकाले जस्तापाता किनेर दिएपछि घरवालाले छाउने प्रावधान छ ।
यस्तो सहयोगले धेरैको मनोबल उकासिएको योजना अधिकृत प्रेम सापकोटा बताउँछन् । ‘२ लाख सहयोग गर्दा श्रमदान जुटाएर दुइकोठे छाप्रो हाल्न सकेका छन्’, सापकोटाले भने, ‘जग्गा नै नभएकालाई भने कम्तिमा एउटा घडेरी आउने गरी ३ लाख सहयोग गरिएको छ ।’ ग्रामीण क्षेत्रको बारीमा घर बनाउन उक्त रकम पर्याप्त भएको उनले बताए ।
राष्ट्रिय भूमि आयोग जिल्ला समितिले भने प्रारम्भिक अध्ययन गरेर पालिकाको भन्दा फरक तथ्यांक निकालेको छ । ४ घर भूमिहिन दलीत, २० जना भूमिहिन सुकुम्बासी र १ सय ८० घर अव्यवस्थित बसोबासी रहेको समितिले दिएको तथ्यांकमा उल्लेख छ । नगरपालिकाले भने वडा–वडामा पुगेर गरिएको तथ्यांकबाट पीडित पहिचान गरेर घर बनाइदिएको पौडेलले बताए ।
आयोगका अनुसार बागलुङमा भूमिहिन सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासी झण्डै दश गुणा बढी देखिएका हुन् । प्रारम्भिक अध्ययनले जिल्लाभर १ सय १० जना मात्रै भूमीहिन दलीत र ३ सय ९३ जना भूमीहिन सुकुम्बासी रहेकोमा ४ हजार ५ सय २० जना अव्यवस्थित बसोबासी भेटिएका हुन् । ‘यो प्रारम्भिक अध्ययन हो’, जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले भने, ‘वास्तविक सुकुम्बासी धेरै नभएको भने प्रष्ट भएको छ ।’
दलित समुदायमा बढी सुकुम्बासी रहेको अनुमान गरेपनि भूमीहीन भने थोरै भेटिएका हुन् । आयोगले फेरी एकपटक वडा तहमा पुगेर अध्ययन गरेपछि वास्तविक तथ्यांक सार्वजनिक गर्ने जिल्ला समितिका अध्यक्ष धर्मबहादुर कुँवरले जानकारी दिए ।
भेटिएकामध्ये सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा अव्यवस्थित बसोबासी रहेका छन् । ढोरपाटनमा मात्रै १ हजार ८ सय ९२ जना अव्यवस्थित बसोबासी देखिएका हुन् । त्यसपछि निसीखोला गाउँपालिकामा पनि धेरै भेटिएका छन् । उक्त पालिकामा ९ सय ४८ जना अव्यवस्थित बसोबासी छन् ।