८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
हेर्नुहोस् 'वरमाला' युट्युबमा

बहिनीको बिहेमा दिदी बेहुली बनेपछि……


जनमञ्च संवाददाता
  • २८ माघ २०७८ , शुक्रबार

  • बहिनीको बिहेमा दिदी बेहुली बनेपछि……

    पछिल्लो समय नेपालमा सामाजिक विषयवस्तुमा फिल्म बनाउने ट्रेन्ड चलेको छ। सामाजिक कथा भन्ने फिल्म नै हिजोआज मौलिक मानिन्छ। यसले फिल्मलाई दर्शकको मनसँग जोड्छ र जुन फिल्म जति धेरै दर्शकसँग जोडिन्छ, व्यावसायिक रूपले सफल हुने आधार उति बलियो हुन्छ।

    डेढ दशकअघि यस्तै एउटा फिल्म बनेको थियो- वरमाला। यो फिल्म पश्चिमी भेगको विवाह संस्कारसँग जोडिएको छ। पश्चिम नेपालका कतिपय ठाउँमा जन्तीलाई कसैगरी पनि दुलही नलिई फर्किनु हुँदैन भन्ने मान्यता प्रचलित थियो।

    यस्तो अन्धविश्वासले कुनै बेला धेरै ठूलो समस्या उत्पन्न गराउँथ्यो। समाजको आधुनिकीकरणसँगै यस्ता घटना अचेल धेरै सुनिँदैनन्। तैपनि बालिग वा नाबालिग केटीलाई जबर्जस्ती वा बाध्यतामा पारेर विवाह गराइएका घटना हाम्रो समाजमा भइरहेकै छन्।

    विवाहसँग जोडिएको अन्धविश्वासमाथि बनेको फिल्म ‘वरमाला’ ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुरज आचार्य र आशुतोषले निर्माण गरेको यो फिल्म हाइटेक इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ।

    फिल्मको कथा दुई दिदीबहिनी वरिपरि घुम्छ- अन्जली (रेखा थापा) र मन्जरी (विपना थापा)। घरमा यी दिदीबहिनीका लागि विवाहका थुप्रै प्रस्ताव आउन थालेका छन्। उनीहरू विभिन्न बहानामा प्रस्ताव टार्छन्।

    प्रस्ताव टार्नुको एउटा मुख्य कारण दिदी मन्जरी हुन्। उनी विजय (रमित ढुंगाना) लाई प्रेम गर्छिन्। उनीहरूको प्रेम सम्बन्धबारे अन्जली पनि जानकार छिन्। उनकै पहलले घरमा पनि मन्जरी र विजयको प्रेम स्वीकार गरिन्छ।

    यसैबीच एकदिन अन्जलीका निम्ति विवाहको प्रस्ताव आउँछ। प्रस्ताव लिएर आउने राहुल (निखिल उप्रेती) लाई अन्जलीका बाबुले पनि मन पराएका हुन्छन्।

    विवाहको कुरा छिनिन्छ।

    यहाँ एउटा समस्या उत्पन्न हुन्छ। अन्जली विवाह गर्न चाहँदिनन्। चलचित्र क्षेत्रमा प्रवेश गर्ने र नायिका भएर चर्चित हुने उनको सपना छ।

    उनको मनमा आँधीबेहरी चल्छ। आखिरको सपनाको वेग यति प्रबल हुन्छ, उनी विवाहकै दिन घर छाडेर भाग्छिन्।

    उता राहुल जन्ती लिएर अन्जलीको घर आइपुग्छन्।

    घरको आँगनमै जन्ती आइपुग्दा छोरी भागेपछि विक्षिप्त बाबु के गर्ने, कसो गर्ने अलमलमा पर्छन्। जन्तीलाई दुलहीबिना खाली हात पठाउनु हुँदैन भन्ने अन्धविश्वासले उनलाई घेर्छ। आखिरमा अन्धविश्वासको बोझ र परिवारको इज्जत राख्न उनी अन्जलीको ठाउँमा अर्की छोरी मन्जरीलाई जग्गेमा बसाल्न अघि सर्छन्।

    बाबुको इज्जत र अन्धविश्वासको अगाडि मन्जरी पनि हार खान्छिन्।

    यसरी समाजको अन्धविश्वासले धेरै जिन्दगीहरू तितरबितर हुन्छन्। धेरै सपनाहरू सिसाझैं चकनाचुर हुन्छन्।

    फिल्ममा रेखा, विपना, निखिल र रमितका साथमा मिथिला शर्मा, केशव भट्टराई, शुरवीर पण्डित लगायतको मुख्य भूमिका छ। चलचित्रमा खलपात्र बनेका विजय लामा आफ्नो भूमिका जमेका छन्।

    चञ्चले युवतीको भूमिकामा रेखा थापाले न्याय गरेकी छन् भने शान्त र जिम्मेवार युवतीका रूपमा विपना थापाको अभिनय प्रभावशाली छ। यो फिल्मले त्यस बेलाको सामाजिक र आर्थिक परिस्थिति राम्ररी झल्काएको छ।

    नेपाली समाजमा विवाह गर्दा दुलहा-दुलहीले एकअर्कालाई पहिर्‍याउने मालालाई वरमाला भनिन्छ। त्यही वरमालासँग जोडिएको सामाजिक कुरीति र अन्धविश्वासले ल्याउने समस्या यो फिल्मले उजागर गर्न खोजेको छ।

    फिल्मको विषयवस्तु राम्रो भए पनि प्रस्तुति अलि सुस्त छ। मुख्य द्वन्द्वमा प्रवेश गर्नै करिब एक घन्टा लाग्छ। यसबीच फिल्म धेरै अनावश्यक दृश्य र प्रसंगहरूमा अलमलिन्छ। केही दृश्य एकदमै अपत्यारिला र नाटकीय छन्।

    फिल्मको अन्त्यसँग कतिपय दर्शक असहमत हुन सक्छन्। सामाजिक अन्धविश्वास र कुलको इज्जतको बोझ बोक्न बाध्य पारिएकी महिलाले परिस्थितिसँग सम्झौता गर्नुको साटो त्यसविरूद्ध आवाज उठाएको भए बढी सशक्त हुन्थ्यो कि भन्ने लाग्छ।

    यति हुँदाहुँदै सिनेमाका माध्यमबाट सामाजिक विषयवस्तु उजागर गर्ने कोसिस प्रशंसनीय छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend