पाेखरा, १८ मंसिर – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा १ हजार १ सय ४६ मत खसेको छ । निर्वाचन समितिका अनुसार १ हजार १ सय ६५ मतदातामध्ये १ हजार १ सय ४६ जनाले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका हुन् ।
गण्डकी प्रदेश कार्यसमितिको नेतृत्वका लागि संस्थापन र संस्थापन इतर समूहबीच प्यानलगत प्रतिस्पर्धा भएको छ ।सभापति शेरबहादुर देउवा निकट समूहबाट अर्जुन जोशी सभापतिको उम्मेदवार रहेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहबाट शुक्रराज शर्मा सभापतिको प्रत्याशी रहेका छन् । मतदान कार्य सकिएकोले साँझ ६ बजेपछि मतगणना सुरु हुने जनाइएको छ । मतगणना पोखरास्थित उद्योग वाणिज्य संघको हलमा हुनेछ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चि प्रदेश अधिवेशनको मतदान कार्य सम्पन्न भएको छ ।
निर्वाचन समितिका अनुसार प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा १ हजार ३ मत खसेको छ । सो प्रदेशमा १ हजार २६ जना प्रतिनिधि मतदाताको रुपमा रहेका थिए । ३३ जना मतदानमा अनुपस्थित रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट वीरबहादुर बलायर र संस्थापनइतर पक्षबाट नारायणदत्त मिश्र उम्मेदवार रहेका छन् । ५९ सदस्यीय कार्यसमितिका लागि कुल १ सय ७७ जना प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन समितिले पार्टी कार्यालयमा राति ९ बजेदेखि मतगणना सुरु गर्ने जनाएको छ ।