बागलुङ, ५ फागुन – गाउँलेको मुठीदानको भरमा चलेको संस्कृत पाठशाला बन्द भएपछि चाहेर पनि पढाइ संचालन भएन । सशस्त्र द्वन्द्वको समयमा बन्द भएको बिद्यालय सारेर अन्यत्रै गएपछि लामो समय संस्कृत पढाइ ठप्पै भयो ।
पाठशाला बन्द भएपछि पढेका बटुकहरु देवघाटमा सरे । काठेखोला गाउँपालिका-५ को बिहुँकोटमा रहेको परमानन्द संस्कृत वेदवेदाङ्ग पाठशाला अब भने पुर्नजीवित गर्ने तयारी भएको छ । पछिल्लो समय संस्कृत भाषाप्रति फेरी चासो बढेकोले पुनःस्थापना गर्न लागिएको वडा नंं ५ का अध्यक्ष शिवप्रसाद कंडेलले बताए ।
बालबालिकाले संस्कृत पढ्ने चाहना राखेपछि पुरानो पाठशालालाई व्युताउने तयारी भएको स्थानीय गौरीशंकर सुवेदीले बताए । देवघाट धामका पिठाधीश ज्ञानानन्द सरस्वतीको अगुवाइमा २०३३ सालमा यो पाठशाला खुलेको थियो । द्वन्द्वको चरम उत्कर्षताका २०५७ मा यो पाठशाला बन्द भएको थियो । पाठशाला व्यूँताउनका लागि धार्मिक महोत्सवसमेत आयोजना गरिएको थियो ।
कम्तिमा ४ करोड रकम संकलन गरेर अक्षयकोष बनाएपछि पाठशाला पुर्नजिवित हुने स्थानीय हरिप्रसाद कंडेलले सुनाए । ‘हरेक वर्ष देवघाटमा भर्ना नपाएका १ सय ५० बढी बटुकहरु यहाँ आएर पढ्नेछन्’, उनले भने, ‘ग्रामीण क्षेत्रबाट आउन चाहनेलाई पनि यहीं भर्ना गरिनेछ ।’ यसरी भर्ना हुनेलाई खाने–बस्ने र शैक्षिक शुल्कसमेत लाग्नेछैन । गुरुकुल शिक्षा भएपनि नेपालको शैक्षिक क्यालेन्डरमा पनि पाठशाला जोडिने योजना कंडेलले सुनाए ।
पाठशालाका लागि शिक्षकहरु पनि चाहिन्छ । एकदुई जना देवघाटबाट आउने छन् भने केही शिक्षकको दरबन्दी माग भएको पाठशालाका प्रधानाध्यापक हंश चैतन्यले बताए । गाउँपालिकामा पनि केही दरबन्दी व्यवस्थापनका लागि माग भएको उनले जानकारी दिए । पाठशाला र छात्रावासकालागि यहाँ यसअघि नै पूर्वाधार थिए । कक्षा संचालनका लागि काठेखोला गाउँपालिकाले गौरवको आयोजनामार्फत ५० लाख लगानी गरेर एक भवन पनि बनाइसकेको छ ।